‘लकडाउन’ अटेर गरे सङ्क्रामक रोग ऐन २०२० अनुसार सजाय

काठमाडौँ। नेपाल सरकारले कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै मङ्गलवार बिहानबाट अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी ‘लकडाउन’ गरेको छ।

यो निर्णय मङ्गलवार बिहान ६ बजेबाट शुरु भई चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने जनाइएको छ। सरकारले यस अवधिमा औषधोपचार र खाद्यवस्तुको खरिदजस्ता अत्यावश्यक कामबाहेक अन्य कोही पनि घरबाट निस्किन नपाउने उल्लेख गरेको छ।

यसका साथै अनुमति प्राप्त बाहेक सबै प्रकारका सार्वजनिक र निजी सवारीसाधनमा रोक लगाइएको छ। सुरक्षा निकायका विमान र तोकिएका उडानबाहेक अन्य सबै आन्तरिक र व्यावसायिक उडानहरू बन्द गरिएको छ।

औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दूध र इन्धन लगायत अत्यावश्यक क्षेत्रका बाहेक सबै निजी उद्योग पनि बन्द गरिएको छ। ‘लकडाउन’को समयमा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाइएको छ। यो आदेशको पालना नगर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार सजाय हुने सरकारले जारी गरेको सूचनामा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै