विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभलमा ‘जुनुको जुत्ता’

काठमाडौँ। विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इनटरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६ औं संस्करणमा नेपाली फिल्म ‘जुनुको जुत्ता’ छनौट भएको छ।

विश्वभरबाट आवेदन दिएका ६५ सयभन्दा बढी फिल्महरुबाट उत्कृष्ट एक सय फिल्म छनौट हुँदा एसियाबाट १९ फिल्म छनौटमा परेका थिए। जसमा यसपटक नेपालको चलचित्र महोत्सवहरूमा पुरस्कृत भइसकेको फिल्म ‘जुनुको जुत्ता’ छनौट भएको हो।

जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिसन’ विधा अन्तर्गत छनौट भएको छ। फेस्टिभल ओवरहउसेनलाई सर्ट फिल्मको सबैभन्दा सम्मानित र विशिष्ट महोत्सवको रुपमा लिइन्छ। ‘सिङ्गापुर फेस्टिभल’ र अर्को प्रतिष्ठित महोत्सव  ‘सिङ्गापुर इनटरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि ‘जुनुको जुत्ता’ छनौट भएको छ।

‘बिग आइज बिग माइन्डस्’ नामले चिनिने यस फेस्टिभलको दशौं संस्करणमा ‘जुनुको जुत्ता’ लाइभ एक्सन सर्ट फिल्म विधा अन्तर्गत छनौट भएको हो। यस्तै फिल्मले काठमाडौँ ‘अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९’ मा नेपाल पनोरमा अन्तर्गत ‘बेस्ट फिक्सन अवार्ड’ जितेको थियो, भने गत माघमा भएको नेपाल ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२०’ मा ‘स्पेसल जुरी मेन्सन अवार्ड’ लिएको थियो।

फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा लगायतको अभिनय छ। आउँदो मे १३ देखि १८ सम्म हुने ६६ औं फेस्टिभल ओवरहउसेन २०२० को निर्धारित मिति विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण हाललाई स्थगित गरिएको छ।