जनकपुरधाममा ‘लकडाउन’ को पालना नगर्नेलाई पक्राउ र बल प्रयोग गरिने

जनकपुर। जनकपुरधाममा ‘लकडाउन’ को पालना नगर्नेलाई प्रहरीले अब पक्राउ र बल प्रयोग गर्ने भएको छ। विश्वभर फैलिसकेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपाल सरकारले मङ्गलबार बिहानैदेखि देशैभर लकडाउन गरेको छ।

सर्वसाधारणलाई अतिआवश्यक काम बाहेक घरबाट ननिस्कन एकसाताको लागि प्रतिबन्ध लगाएको छ। तर जनकपुर बजारमा त्यसको पूर्णरुपमा पालना भएको छैन। सर्वसाधारणहरू अत्यावश्यक काम बाहेक पनि सडकमा हिँडडुल गरिरहेका छन्। मोटरसाइकल र अटो रिक्साहरू बजारका सडकहरूमा गडेको देखिएको छ।

लकडाउनको उल्लङ्घन गर्दै अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल गर्नेलाई पक्राउ र जथाभावी गर्नेलाई बल प्रयोग गर्न प्रहरीलाई निर्देशन दिएको छ। अहिले जनकपुरको विभिन्न ठाउँहरूमा सुरक्षाकर्मी परिचालन भएको छ। घरबाट बाहिर निस्कनेलाई अतिआवश्यक काम बाहेक घर फर्काउने, सम्झाउने गरिरहेका छन्। नमान्नेलाई पक्राउ गर्न तथा जथाभावी गर्नेलाई लट्ठी समेत प्रयोग गर्न प्रशासनले निर्देशन दिएको छ।

पास बाहेकका सबारीसाधन सडकमा गुडाउन प्रतिबन्ध लगाएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले केही सरकारी गाडी, सन्चार तथा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई पासको व्यवस्था गरेको छ।

यसैबीच, विश्वभर त्रास फैलाएको कोरोना विरुद्धको अभियानलाई प्रभावकारी बनाउन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ६ मा रहेको श्री स्वतानी युवा क्लब र स्थानीय प्रशासनको सहयोगमा परदेश २ मा सबै भन्दा ठुलो सखुवा हाट बजार बन्द गराएको छ भने स्थानीय लाई २५० माक्स उपलब्ध गराएको छ।