नेपाल प्रहरीका तीनजना एआईजीमा बढुवा

काठमाडौँ। सरकारले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले १५ फागुनमै लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। तर, प्रधानमन्त्री मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद् बैठक बस्न नसकेकाले सिफारिस उपर निर्णय हुन समय लागेको थियो।

हाल सुदूरपश्चिम प्रहरी प्रमुख रहेका लम्साल वर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याचका हुन्। उनीहरूले २५ असार २०४७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए। क्षेत्री र पाल १९ वैशाख २०४९ मा नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन्। क्षेत्री र पालमध्ये एक जनाले २४ असार २०७६ पछि नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्। यदि ३० वर्षे सेवाअवधि हटे ठाकुरकै कार्यकाल लम्बिनेछ।

अन्य सम्बन्धित समाचार:  ५ जना छात्राको हात भाँच्चिने गरी कुट्ने शिक्षिकालाई १५ दिन कैद

हाल क्षेत्री केन्द्रीय प्रहरी प्रवक्ता छन् भने पाल आतङ्कवाद र विशेष प्रकृतिको अनुसन्धानमा खटिने विशेष ब्युरोको नेतृत्व गरिरहेका छन्। यसअघि पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अवकाश पाएसँगै तीन एआईजी पद रिक्त थिए।