आफूलाई कोरोना सङ्क्रमण नभएको जुलियाको दावी

काठमाडौं। मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्लेले आफूलाई कोरोना सङ्क्रमण नभएको दावी गरेकी छिन्। तीन साताअघि ‘मिस वर्ल्ड’ टोनी एन सिंहसँग तीन दिने नेपाल भ्रमणमा आएकी थिइन्।

सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको तीन दिने नेपाल भ्रमण सकेर फर्किएसँगै जुलियालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको चर्चा सामाजिक सञ्जाल तथा मिडियामा छाएको थियो। उनलाई कोरोना पोजेटिभ देखिएको भन्दै समाचारहरू पनि प्रकाशित भए।

तर उनले आफूलाई रुघा खोकीले सताए पनि कोरोना नभएको बारे लिखित स्पष्टिकरण दिएकी छिन्। साथै हाल आफू स्वस्थ रहेको समेत जनाएकी छिन्। मिस नेपाल आयोजक संस्था द हिड्न ट्रेजरको पेजमा पनि जुलिया मोर्लेलाई लिएर प्रकाशित सामाग्री गलत भएको उल्लेख गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट सप्तरीका शिक्षकको मृत्यु