न्युयोर्कबाट क्वारेन्टाईन डायरी: ज़िन्दगी झन् प्यारो लाग्दैछ

म मा कुनै कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन तर विगत १३ दिनदेखि म सेल्फ क्वारेन्टाईनमा छु। म जस्तै लाखौँ मानिसहरू न्युयोर्कमा घरमै सेल्फ क्वारेन्टाईनमा छन्।

अपार्टमेन्टको बार्दली, बेड रुम र किचन तथा बाथरुम बाहेक यदाकदा केही ग्रोसरीको जोहो गर्न मात्र बाहिर निस्कन्छु। मन मिल्ने साथीभाइ र इष्टमित्रकोमा जाऊँ र गर्लम्म अङ्गालो हालेर रोऊँजस्तो लाग्छ, तर समयले पहिलोपटक मेरो र उनीहरूबीचको विश्वासको पर्खाल भत्काइदिएको छ। मैले उनीहरूलाई र उनीहरूले मलाई भाइरस बोकेको शङ्का गर्ने बेला भएको छ।

ढोका बाहिर निस्कँदा रुघाखोकी लागेका, हाछ्युँ गर्ने त हुने नै भए तर ढोकाको ह्यान्डल, ढोका माथिको पर्दा, लिफ्टको बटनदेखि फलफूल, तरकारी, ग्रोसरीका प्याकेटदेखि सबैतिरबाट कोरोना भाइरसका किटाणुले मलाई नै पख्लास् भनेजस्तै लाग्छ।

हिजो मात्र मास्क किन्न भनेर फार्मेसी गएँ। कोरोना भाइरसको प्रमुख लक्षणको रुपमा रहेको ज्वरो आइहाल्यो भने नाप्नका लागि ‘डु यु सेल थर्मोमिटर’ भनेर दश फीट परबाटै सोधेको के थिएँ, फार्मेसीवालाले मलाई नै कोरोना भाइरस लागेजस्तो गरेर ‘नो नो नो’ भन्यो। म अघोषित अपराधीजस्तै लुरुलुरु बाहिर निस्केँ। ग्रोसरी पसलमा एकपटकमा दसजना भन्दा बढि ब्यक्तिको प्रवेश निषेध गरिएको थियो। कोही व्यक्ति नजिक जाँदा आफ्नो प्रमुख शत्रु नै आएजस्तो व्यवहार गर्न थालिसकेका थिए मान्छेहरू।

कहिल्यै नसुत्ने सहरको रुपमा उपनाम पाएको न्युयोर्क सहर यो बेला दिउसै सुतेको जस्तो देखिएको थियो। सहर मरुभूमिजस्तै शान्त लाग्दैथियो। सार्वजनिक यातायात रित्ता  थिए।

एउटा सानो जीवाणुले पनि संसारकै शक्तिकेन्द्र अमेरिकालाई यत्तिको नराम्ररी हल्लाउँछ भनेर मैले कहिल्यै सोचेको थिईन। आफ्नै घरमा कैदीबन्दी बनेर कहिले सम्म बस्नुपर्ने हो केही सुईको सम्म छैन।

अन्य सम्बन्धित समाचार:  महामारीमा कालोबजारी! नुन तेल देखि अस्पताल सम्म

अहिले न्यूयोर्कमा मात्रै अमेरिकामा भएको कूल आक्रमणमध्ये झण्डै आधाको सङ्ख्यामा सङ्क्रमण भएको छ। यो सङ्ख्या ज्यामितीय रुपमा बढिरहेको छ। यो डायरी लेख्ने बेलासम्म न्युयोर्कमा एक जना नेपालीको मृत्यु कोरोनाकै कारणले भईसकेको छ।

अझ दुखको कुरा के भने, आफ्नै समुदायको मान्छे मर्दा मृतकको ढोकामा पुगेर श्रद्धान्जलीका आँशु र समवेदनाका अङ्गालो हाल्न नपाउँदा मन यति रोएको छैन।सायद यो बेला अभिभावकत्व गुमाएका मृतककै आफन्तले समेत अनुहार हेर्न पाए कि पाएनन् भन्ने चिन्ताले मन खिन्न भएको छ।जे जस्तो भए पनि आफ्नै ज्यानको माया सबैभन्दा बढ़ी लाग्ने रहेछ।त्यसैले आफ्नो ज्यान बचाउन अहोरात्र चिन्तित छु। म जस्तै धेरै साथी भाइहरुले ज़िन्दगीलाई झन् धेरै माया गरेको अनुभव गरेको छु।

न्युयोर्कमा ठूलो सङ्ख्यामा नेपालीहरु बस्छन्। ती मध्ये धेरै नेपालीहरु क्वीन्स र ब्रुकलिन बोरोमा बस्छन् जुन सहरका सबैभन्दा संबेदनशील क्षेत्रहरु मानिएका छन्।ग्याँस स्टेशन, ग्रोसरीज,ब्युटी सेलुन, ड्राईभिंग र रेष्टुरेन्ट बिजनेशमा धेरै नेपालीहरु काम गर्ने हुनाले नेपालीहरु संक्रमणको उच्च जोखिममा छन्। अझै कति अप्रिय घटना सुन्न पर्ने हो भनेर मन बेचैन हुन्छ। तर त्यसका लागि तयार नभई सुखै छैन।

मंगलबारसम्मको तथ्यांक अनुसार अमेरिकामा यो भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ५००७५ पुगेको छ भने गुमाउनेको सङ्ख्या ६२८ पुगेको छ। यदि यहि रफ्तारमा बढ्दै जाने हो भने यो भाइरसको नयाँ इपिसेन्टर अमेरिका बन्ने छ, अझ सत्य भन्नुपर्दा म बसेको न्युयोर्क सहर नै नयाँ इपिसेन्टर बन्ने निश्चित छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाको भारतीय भेरियन्ट वैश्विक स्तरमै खतरनाक: डब्लुएचओ

नयाँ रिपोर्टले कोरोना भाइरसको जीवाणु १९ दिनसम्म बाँच्ने देखिएको छ। यो तथ्यलाई बिश्वास गर्ने हो भने कहिँ न कतैबाट आफू पनि सुरक्षित छैन भन्ने डर लागिरहेको छ।

यसैबिच ईटलीमा एक ९५ बर्षीय हजुरआमाले कोरोनाबिरुद्धको लडाई जितेको समाचारले यो रोगलाई जित्न पनि सकिन्छ भन्ने लागेको छ। संसारभर ४ लाख जनामा यो भाइरसको सङ्क्रमण हुँदा मर्नेहरुको दर हेर्दा पनि बाँचिन्छ भन्ने लागेको छ। झण्डै १ करोड ९४ लाख जनसंख्या भएको न्युयोर्क राज्यमा ५०,००० मात्र संक्रमित भएकोले त्यो तथ्यांक हेरेर बुझाएको चित्त केही छिनमै भत्किरहन्छ।

तथ्यांकमा जे जस्तो भए पनि यो भाईरसले मनलाई स्थिर बन्न दिएको छैन। जिन्दगी पहिलेभन्दा झन् प्यारो लाग्न थालेको छ। यसैले आत्मविश्वास बलियो बनाएर बसेको छु। मेरा सबै शुभचिन्तकहरुलाई पनि आत्मविश्वास बलियो बनाउँदै उचित सतर्कता अपनाउन म हृदयदेखि अनुरोध गर्दछु।

एक बारको ज़िन्दगीमा यो पापी कोरोना भाईरसबाट लुक्न सकिएछ भने नाफाको ज़िन्दगीको खुशीमा ‘एक पार्टी तो बन्ता है !’ त्यो सुखद दिनसम्मको लागि चुपचाप आ-आफ्नै निवासमा बसिरहनुस् है!
                     

                                 (न्युयोर्कबाट सरगम भट्टराईको डायरी)