ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८, जगातीमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई भक्तपुर कमलविनायक बस्दै आएका २८ वर्षीय उत्तरबहादुर तामाङ छन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार घाइते हुने तामाङको  उपचारको क्रममा मृत्यु भएको हो।

घाइते सिन्धुपाल्चोक घर भइ कमलविनायक बस्ने २८ वर्षीय आकाश तामाङको केएमसी अस्पताल, सिनामङ्गलमा उपचार भइरहेको छ भने ११ वर्षीया कोलसङ डोल्मा तामाङ उपचारपछि डिस्चार्ज भइसकेकी छिन्।

अरनिको राजमार्गमा रोकी राखेको ना ६ ख ११०३ नम्बरको ट्रकमा सूर्यविनायकबाट साँगातर्फ जाँदै गरेको बा ९० प ४०४० नम्बरको मोटरसाइकल ठोक्किँदा घटना भएको हो।

अन्य सम्बन्धित समाचार:  तानियो रातो मच्छिन्द्रनाथको रथ

दुवै सवारी साधन र ट्रक चालक चितवनका २६ वर्षीय दुर्गाबहादुर तामाङलाई महानगरीय प्रहरी वृत्त, जगातीले नियन्त्रणमा लिएको छ।