सगरमाथा क्षेत्रबाट पर्यटकको उद्धार

काठमाडौँ। सगरमाथा क्षेत्र भ्रमणमा आएका १० जना पर्यटकको उद्धार गरिएको छ। केही समयअघि खुम्बु भ्रमणमा आएका ती पर्यटकको स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा उद्धार गरे काठमाडौँ ल्याइएको  छ।

उनीहरूलाई गाउँपालिकाका विभिन्न स्थानबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको जनाइएको छ। मङ्गलबार विभिन्न हेलिकोप्टरमार्फत छ जनाको उद्धार गरिएको थियो भने आज गाउँपालिकाको पाङबोचेबाट चार जनाको उद्धार गरिएको हो।

नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका प्रमुखका अनुसार आज उद्धार गरिएका चारै जना रसियन नागरिक हुन्। अधिकांश लेक लागेर बिरामी परेका छन् भने केहीलाई चोटपटकसमेत लागेको छ। लुक्ला प्रहरीले दिएको तथ्याङ्कअनुसार अहिले लुक्लामा १३६ जना विदेशी पर्यटक छन्।

नेपाल सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर राख्दै लकडाउन गरेपछि करिब ३०० पर्यटक खुम्बु क्षेत्रमा नै अलपत्र परेका छन्। अलपत्र परेका पर्यटकलाई कुनैपनि स्वास्थ्य समस्या आएमा तत्काल हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गर्नु पर्ने बताइएको छ। त्यस क्षेत्रमा स्वास्थ्य व्यवस्था भरपर्दो नहुँदा विदेशी पर्यटक तथा उनीहरूको सहयोगीसमेतको थप उपचारको लागि हेलिकोप्टर कै प्रयोग गरी काठमाडौँ ल्याइएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  माफिया शैलीमै मेडिकल सामानमा ब्रम्हलुटको तानाबाना (के-के भएको थियो? भिडियो हेर्नुहोस्)