लकडाउनको तेस्रो दिन थप कडाइ, शहरका भित्री क्षेत्रमा पनि सुरक्षाकर्मी

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि एक साताका लागि गरेको लकडाउनको आज (बिहीबार) तेस्रो दिन शहर बजार सुनसान छ। अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन्। भने सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन्।

तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ। जसका कारण सुरक्षाकर्मीहरूले लकडाउन उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिनु परेको जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने बताएको छ। शहरका भित्री क्षेत्रमा पनि लकडाउन पालना गर्न सुरक्षाकर्मी सक्रिय रहेको र सर्वसाधारणले सहयोग गरिरहेको पनि बताइएको छ।

कतिपय स्थानमा सुरक्षाकर्मीहरूले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गरेका छन्। लकडाउनको अवज्ञा गर्दै बिनाकाम हिँडडुल गर्ने र सबारीसाधन चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोनाबाट एकै दिन २३ को मृत्यु

ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने सरकारी तयारी छ।