कोरोना भाइरस : भारतमा एकै दिनमा ३ को मृत्यु, मृतकको सङ्ख्या १३ पुग्यो

काठमाडौँ। भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ। स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो।

बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए।  त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन्। बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि यो भाइरसको कारण ज्यान गएको बताइएको छ। यससँगै भारतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको हो।

भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार अहिले सम्म भारतमा ६८६ जनामा यो भाइरसको सङ्क्रमण देखिएको छ।

अन्य सम्बन्धित समाचार:  चीनमा ६ जनाको मृत्यु, २३ जनामा संक्रमण

भारतमा यो भाइरसको सङ्क्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ। अहिले सम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन्। पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।