साबधान : खोक्नु पनि आतङ्ककारी गतिविधि 

काठमाडौँ। कसैलाई कोरोना भाइरस लागेको छ र अन्य मानिसहरू अगाडि भाइरस सार्ने नियत राखी खोक्यो भने अब त्यस प्रकारको गतिविधिलाई आतङ्कवाद मान्न सकिने भएको छ।

अमेरिकी न्याय विभागको भर्खरै जारी भएको सूचनामा  कोरोना भाइरसलाई जैविक एजेन्ट को रुपमा व्याख्या गर्न सकिने जनाइएको छ। अमेरिकी कानुन अनुसार कुनै पनि किसिमका जैविक एजेन्टको जानीजानी प्रसारण गर्नु आतङ्कवादको कार्य हो।

कोरोना भाइरस एक जैविक एजेन्ट हो। अरूलाई बिरामी बनाउने हेतुले कुनै कार्य गर्नु सङ्घीय आतङ्कवाद कानूनको उल्लङ्घन गर्ने अपराध हुन सक्दछ। न्याय विभागको एक उच्च अधिकारीले पठाएको सूचनामा भनिएको छ।

सह महान्यायाधिवक्ता जेफ्री रोजेनले अन्य विभागका अधिकारीहरू, सुरक्षाकर्मी र न्यायलयमा पठाएको सूचनामा जानाजानी भाइरस सङ्क्रमित गर्दा सम्भवतः राष्ट्रको आतङ्कवाद सम्बन्धी कानुन लागू गर्न सकिने कुराको उल्लेख छ। पोलिटिको को रिपोर्ट  अनुसार कोविड १९ लाई आम जनता विरुद्ध हतियारको रूपमा प्रयोग गर्ने धम्की वा प्रयासलाई कुनै हालतमा अमेरिकाले नसहने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णालीमा थप ७७ जनामा संक्रमण

अमेरिकाको न्यु जर्सी राज्यमा एक सुपरमार्केटमा कर्मचारीका अगाडि जानीजानी खोकेको अभियोगमा ५० वर्षीय जर्ज फाल्कनलाई सोही कानुन अनुसार मुद्दा दायर गरिएको छ। फाल्कन सुपरमार्केटका कर्मचारी नजिकै उभिएका थिए र उनलाई पछि हट्न भनिएपछि आगाडि गएर खोक्दै आफूलाई कोरोना भाइरस भएको कुरा बताएका थिए।

यदि ती आरोपमा दोषी ठहरिए फाल्कनलाई आतङ्कवादी धम्कीको आरोपमा सात वर्ष सम्म जेल सजाय हुन सक्छ।