जो चूपचाप रङमा रमाउँदै छन्

काठमाडौं। कोरोना भाइरस (कोभिड­१९) को सम्भावित जोखिम हुन नदिन मुलकलाई ‘लकडाउन’ गरिएको छ। कतिपयलाई लकडाउनको एकान्तबास कटाउन मुस्किल छ। टेलिभिजन हेर्ने, रेडियो सुन्ने र सामाजिक सञ्जालमा व्यस्त रहनु आनन्द र बाध्यता दुवै छ। तर कुची र रङमा रमाउने कलाकारलाई भने लकडाउन समस्याका बीचको वरदान सावित छ।

सो भाइरसले सिङ्गो विश्वलाई प्रभावित बनाइरहेको बेला कलाकार क्यानभास रङ्गयाउन व्यस्त छन्। ‘जहाँ चुनौती त्यहाँ अवसर’ भने झैँ लकडाउनलाई नेपाली चित्रकारले महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गरेका हुन्।
यतिबेला कलाकारले कोरेका चित्रमा उनीहरुको कल्पना मात्र हैन अहिलेको वास्तविकताले मूर्त रुप पाएको छ।

क्यान्भासमै सो भाइरसको जोखिम र रोकथामका सन्देश चित्रकारिताबाटै समुदायलाई दिइरहेका छन्। कतिपय कलाकार रङको नौलो प्रस्तुति दिन अभ्यासरत छन्। फरक फरक शैलीमा रङ खेलाउँदै अनौठा आकार दिइरहेका छन्।

स्वदेश विदेशका दृश्यलाई समेटेर क्यान्भास रङ्गयाइरहेका चित्रकारले पुराना थाती रहेका काम छोट्याउँदै छन्। थन्किएका क्यान्भासका खापा उघार्दैछन्। रातपछिको दिनजस्तै रङ्गीन उज्यालो चित्रमा भर्दैछन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य औपचारिक कामबाट फुुर्सदिलो छन्।

त्यसबीचमा थाती रहेका चित्रकारिताका काम गर्न थालेकाले उनलाई भ्याइनभ्याई छ। कर्माचार्य चित्र सिर्जना गर्ने र त्यसलाई भिडियो बनाएर युट्यूबमा राख्दै अरुलाई ऊर्जा दिँदै छन्।

एक वर्षअघि शिवरात्रीका बेला पशुपतिमा खिचिएको साधुको मुहार चित्र स्केचमै थन्किएको थियो। लकडाउनले त्यो स्केचलाई पूर्णता दिने अवसर लकडाउनले दियोे। उनका खाली हातमा कुची चले अनि रङले खुल्ने ठाउँ प्राप्त गरे। हेर्दाहेर्दै बन्यो सग्लो सुन्दर पोट्रेट। “थाती रहेको पोट्रेट सकेँ, एउटा एब्सट्र्याक पनि सकेँ, अब अर्काे ठूलो एब्सट्र्याक बनाउने सोचमा छु”, कुलपति कर्माचार्यले भने।

बाबालाई एक्रेलिकले र अब्सट्र्याकलाई तेल रङले सिंगारेका छन्। अन्य कलाकारलाई सुझाव दिँदै उनले भने, “मौकाको सदुपयोग गरौँ, एक त रोगको महामारी, अर्काे आफ्नै काम पनि बन्ने भएकाले घरमै काम गर्ने अवसर नगुमाऔँ।”

एउटा कलाकारका लागि चाहिने वातावरण बनेको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय लकडाउनको भरपुर सदुपयोग गरिरहेका छन्।