जग्गा विवादमा झडप हुँदा आधा दर्जन घाइते

रौतहट। रौतहटको देवाही गोनाही नगरपालिका अन्तर्गत जग्गाको विवादमा दुई पक्षबीच झडप हुँदा आधा दर्जन मानिस घाइते भएको छन्। नगरपालिका ५ टिकुलियामा शुक्रबार बिहान ११ बजे बाटो निकाल्ने विषयमा स्थानीय रामएकवाल मुखिया र प्रमोद दुवै पक्षबीच झडप भएको थियो।

झडपमा परी रामएकवाल मुखिया, सोनालाल मुखिया, प्रदिप मुखिया, कृष्ण मुखिया र अर्को पक्षका प्रमोद दुवै र मनोज दुवै घाइते भएका हुन्। घाइते मध्ये गम्भीर अवस्थामा रहेका रामएकवाल मुखिया, सोनालाल मुखिया र प्रदिप मुखियालाई गरुडामा सामान्य उपचारपछि थप उपचारका लागी एम्बुलेन्सबाट विरगन्ज पठाइएको देवाही गोनाही इलाका प्रहरी कार्यलयले जनाएको छ।

अन्य तीनजना घाइतेको प्रहरीको निगरानीमा गरुडास्थित निजी अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये अधिकांशको टाउकोमा घाउ खत देखिएकाले झडपमा धारिलो हतियार प्रयोग भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताइएको छ। घाइते प्रमोद दुवै नेपाली सेनाका जवान हुन् भने रामएकवाल सहनी नेकपाका जिल्ला सदस्य हुन्। तर प्रहरीले घटनास्थलबाट कुनै किसिमको हतियार बरामद गरेको छैन।

अन्य सम्बन्धित समाचार:  क्वारेन्टिनमै जन्मियो बच्चा

घटनामा संलग्न दुवै पक्षका मानिस घाइते भई उपचाररत रहेकाले कसैलाई पक्राउ नगरिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।