कोरोना भाइरसको सङ्क्रमण रोक्न विश्वका १९३ पार्टीको संयुक्त अपिल 

काठमाडौँ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न विश्वका १ सय ९३ पार्टीले साझा ऐक्यवद्धता जनाएका छन्। विश्वभर कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि थालिएका प्रयासलाई बलियो बनाउन र जनतालाई सचेत बनाई महाविपत्तिको दृढतापूर्वक सामना गर्न विश्वका १ सय ९३ राजनीतिक दलहरूले १० बुँदे संयुक्त अपिल जारी गरेका हुन्।

जसमा नेपाल कम्युनिस्ट पार्टीले पनि संलग्नता जनाएको विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ। ‘अ जोइन्ट ओपन लेटर फ्रम वर्ल्ड पोलिटिकल पार्टीज कन्सर्निङ क्लोजर इन्टरनेसनल को–अपरेसन एगेन्स्ट कोभिड–१९’ नामक उक्त अपिललाई सम्प्रेषण गरेको नेकपाले जनाएको छ।

यस प्रयत्नलाई अझ बढी प्रभावकारी, सघन र सफल बनाए मात्रै कोरोना विरुद्धको लडाइँमा विजयी हासिल गर्न सकिने विश्वास लिइएको छ। समान चिन्ता, सरोकार र अपेक्षाका साथ तयार गरिएको उक्त दस्तावेजले सङ्कटका बेला एकजुट भएर अघि बढ्न विश्वलाई प्रेरित गर्ने नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  क्वारेन्टिनमै कुर्सीमा बसेर फोन गरिरहेका वडाध्यक्षको मृत्यु

कोभिड–१९ को महामारी यतिबेला विश्वकै साझा चुनौतीका रुपमा देखा परेको छ। मानव जातिमाथि नै ठूलो सङ्कटका रुपमा देखा परेको यस महामारीका विरुद्ध लड्नका लागि विश्वका सबै मुलुकहरूले आ–आफ्नो ठाउँबाट अधिकतम प्रयत्न गरिरहेका छन्।