म अबदेखि ढुङ्गा पूज्दिन

ए आमा!
हेर त, तिमीले दिनदिनै पूज्ने
त्यो माथि मन्दिरको कालो ढुङ्गा बोलेन
मैले उसलाई दुई हात जोडेँ:
भगवान भनेँ, प्रभु भनेँ, देवता भनेँ
अहँ! ऊ बोल्दै बोलेन

मैले उसलाई धेरै बोलाएँ
उसको अघि अनुनय गरी आँशु झारेँ
निराहार उसकै पाउ परेँ
अहँ ऊ अझै बोलेन
एक शब्दपनि बोलेन

उसले न मेरा आँशु पुछ्यो
न अरुका आँशु नै पुछेको मैले देखेँ
न मेरा हाँसो थाम्यो
मलाई एकोहोरो तिरस्कार गर्यो,
म चिच्याएँ:

ऊ न हाँस्यो,न रोयो
आमा! मलाई अब प्रष्ट भयो:
ढुङ्गा भनेको ढुङ्गै रहेछ

त्यसैले
अब म अरु केही सोच्दिन
मलाई माफ़ गर आमा
म अबदेखि ढुङ्गा पूज्दिन!
—————–
मैले फूल चढ़ाएँ, जल चढाएँ:
ऊ बोलेन
मैले धुप सल्काएँ:
ऊ बोल्दै बोलेन
म निहुरिएँ, परिक्रमा गरेँ, लम्पसार परेँ
तर उसले गुनेन

म घोरिएँ: उसले देखेन
मैले आग्रह गरेँस् उसले सुनेन
म समर्पित भएँ, उसले बुझेन
मैले उसलाई सर्वष्व सुम्पेँ
तर ,

त्यो देवता भनाउँदो ढुङ्गाले मलाई
न देख्यो, न सुन्यो
न डोर्यायो, न लछार्यो
बरु संकटमा भाइरसले भाइहरुको प्राण उडाउँदा
अस्पतालका ढोकाहरु खुला थिए
तर त्यो ढुंङ्गा बस्ने घरको ढोका बन्द थियो
त्यसैले,

मेरा बिनयहरु ब्यर्थ पार्ने
संकटमा ढोका थुन्ने
त्यो निर्दयी देवता भनाउँदो ढुङ्गाबारे
म पनि अबदेखि केही बुझ्दिन
मलाई माफ़ गर आमा!
म अब देखि ढुङ्गा पूज्दिन!

——————
हो आमा!
अचेल मलाई
मन्दिरको ढुङ्गा भन्दा
बाहिर माग्ने हातहरु देवता लाग्छन्
मान्छेको रमिता हेर्ने ढुङ्गाभन्दा
सेवा गर्दै बरर रुने आँखाहरु भगवान लाग्छन्
त्यसैले होला,

नचल्ने त्यो गतिहीन ढुङ्गाको मूर्तिभन्दा
बरु ढुङ्गा ओढ्ने ज्यानहरु प्यारा लाग्छन्
म त्यो ढुंगालाई खुवाउन्न अचेल
बरु ढुङ्गा कुटेर खानेहरुलाई खुवाउँछु

म अब ढुङ्गालाई ध्वजा हैन
ढुङ्गा कुटेर घाउ बनाउनेलाई
मलमपट्टी गर्नेबारे सोच्छु
म त ढुङ्गाको सिरानी लगाउनेहरु
देखेर भावविभोर हुन्छु
किनकी म बिश्वस्त छु

मेरो देवता ढुङ्गामा हैन
ढुङ्गा कुट्नेहरुसंग छ
आकाश ओढ्नेहरुसंग छ
अस्पतालमा छ, बृद्धा़श्रममा छ
यसो भन्दा म नास्तिक नै ठहरिऊँला
तर आईन्दा

म अब त्यो ढूङ्गाबारे सोच्दिन
मलाई माफ़ गर आमा!
तर म नास्तिक होईन
म मानव कल्याण बाहेक केही बुझ्दिन
त्यसैले माफ़ गर आमा!
म अबदेखि ढुङ्गा पूज्दिन!