कोरोना भाइरसका बिरामीलाई खाना ओसार्ने रोबोट



काठमाडौँ। सामाजिक अभियन्ता तथा वैज्ञानिक महावीर पुनद्वारा सञ्‍चालित राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसका बिरामीलाई खाना ओसार्ने रोबोट बनाएको छ।

पुनका अनुसार करिब ११ दिन लामो प्रयासमा कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रले रोबोट बनाउनसफल भएको हो। यो कोरोनाका बिरामीहरुलाई खाना र औषधि पुर्‍याउने पहिलो रोबोट हो। यसो हेर्दा यो रोबोट जस्तो देखिँदैन तर काम भने राम्रोसँग गर्ने पुनले बताएका छन्। पुनका अनुसार यसको प्रयोगले बिरामीको सेवा गर्ने नर्सहरुलाई जोगाउन सकिने छ।

यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले दिएको हो। अन्य पार्ट पुर्जाहरुको मात्रै मोटामोटी खर्च ७५ हजार रुपैयाँजति लागेको छ। उनले रोबोटलाई परीक्षणका लागि सुरुमा नेपाली सेनाको कोरोना अस्पतालमा पठाइने बताएका छन्। रोबोटको माग बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि आएको बताइएको छ।

कोरोनाका बिरामीको सेवामा डाक्टर र नर्सहरुलाई सजिलो बनाउन यस्तै खालका अन्य रोबोट पनि बनाउँदै जाने बताइएको छ।