वीरगञ्जमा कोभिडको छुट्टै अस्पताल

श्याम गुप्ता। वीरगन्जको गण्डक स्थित गण्डक अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने गरि हस्तान्तरण गरिएको छ। वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायलाई  ७० शैय्याको उक्त अस्पताल हस्तान्तरण गरेका हुन्। हस्तान्तरण पूर्व अस्पताल सिल गरिएको थियो।

नारायणी अस्पतालको शाखाका रुपमा कोरोना विशेष अस्थायी अस्पतालका रुपमा सेवा थालिने गण्डक अस्पतालमा कोरोना सङ्क्रमणमा परेका व्यक्तिहरूको उपचार हुने बताईएको छ। अस्पतालमा  तीन वटा पानी तताउने ट्याक , १ सय थान एन नाइन्टी फाइभ मास्क , १ हजार ५ सय थान सर्जिकल मास्क ,९० थान पीपीइ , ह्याण्ड ग्लब १ सय ८० बक्स , थर्मल गन २ थान , ९० थान मेडिकल चश्मा , ९० जोडी जुत्ताको कभर , ९० थान हेड कभर लगायतका स्वास्थ्य सामाग्री तथा उपकरण पनि हस्तान्तरण गरिएको छ।

अन्य सम्बन्धित समाचार:  ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याइयो

आफ्नो जनशक्ति तथा प्राविधिक नेतृत्वमा महानगरले कोभिड अस्पताल सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको सरावगीले बताएका छन्।

अस्पतालको स्वामित्व लिँदै मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले अस्पताल चाँडै सञ्चालनमा आउँने बताए।