आँखै अघि घरको छानो उड्यो, लकडाउनमा अव कता जाँउ?

रौतहट। जिल्लाको विभिन्न स्थानमा हावाहुरी सहितको वर्षाको कारण दर्जनौं घरको छानो उडाएको छ भने केही टेलिफोनको खम्वा ढल्दा संञ्चार सम्पर्क विच्छेद भएको छ।

मंगलवार बिहान बर्षासंगै आएको हावाहुरीले टेलिफोनको टावर ढल्नुका साथै दर्जनौं घरको छाना उडाएको स्थानीय पत्रकार जयप्रकाश यादवले नेपाली पत्रिकालाई बताए।

हावाहुरीले ठाउँठाउँमा रुख ढल्दा त्यसकै असर पोलमा परेको कारण विद्युत सेवा अवरुद्ध बनेको छ।
हावाहुुरीले जिल्लाको पूर्वीभेग दुुर्गा भगवती गाँउपालिका १ गंगापिपरा बजारमा रहेको नेपाल टेलिकमको टेलिफोन टावर समेत ढलेको छ।

एकाबिहानै टेलिफोन टावर ढलेको कारण नेटवर्क नहुँदा दुुर्गाभगवती गाँउपालिकालगायत आसपासका हजारौं मानिसले सञ्चार सम्पर्कको समस्यामा रहेका छन्।

एकातिर बन्दाबन्दीका कारण घरभित्रै बस्नुपर्ने बाध्यतामा रहेका जनताहरुलाई विद्युत सेवा अवरुद्ध हुँदा समस्या भएको समेत स्थानीयको गुनासो रहेको छ।

अन्य सम्बन्धित समाचार:  सोती हत्याकाण्डमा संलग्न भएको आरोपमा १८ जना पक्राउ

त्यसैगरि हावाहुरीले वडा ३ का देवेन्द्र चौधरीको घरको छाना समेत उडाएको छ भने दुुर्गाभगवती गाँउपालिका वडा १,२,३,४,र ५ मा दर्जनौ घरको छाना उडाएको बताइएको छ।

त्यस्तैगरि हावाहुुरीकै कारण जिल्ला प्रहरी कार्यालय रौतहटको जवान बस्ने ब्यारेकको भवनको छाना समेत उडाएको कारण समस्या उत्पन्न भएको जनाइएको छ।

उता हावाहुरीबाट कटहरिया नगरपालिका र बौधीमाई नगरपालिका स्थित केही बिद्युतको पोल ढलेकाले बिद्युत सेवा अवरुद्ध बनेको छ।