लकडाउनको मौका छोपेर काठ तस्करी (भिडियो रिपोर्ट)

लकडाउनको मौका छोपेर बारामा काठ तस्करी

श्याम गुप्ता, बारा। लकडाउनको मौका छोपेर बारामा काठ तस्करी बढेको देखिन्छ। काठ काटेर घरमा लुकाएर राखेको अवस्थामा डिभिजन वन कार्यालय, सिमरा बाराले छापामारी गरी ठुलो परिमाणमा काठ बरामद गर्न सफल भएको छ।

जिल्लाको कोल्हवी नगरपालिका वडा नं ५ ककडी नयाँ टोलबाट करिब पाँच हजार क्यु फिट अर्थात एक सय २० थान भन्दा बढी साल, सिसौको गोलाई र चिरान काठ बरामद गरेको हो।

उक्त टोलका अधिकांश परिवारले नजिकैको जङ्गलबाट काठ चोरी तस्करी गरी घर परिसरमा लुकाई छिपाई राखेको अवस्थामा काठ बरामद गरिएको थियोे।

डिभिजन वन कार्यालय, सिमरा बाराका अधिकृत अब्दुल करिमको नेतृत्वमा गएको टोलीले उक्त परिणामको काठ नियन्त्रणमा लिएको  डिभिजन वन कार्यालय बाराले जनाएको छ। टोलीमा बनगस्ती, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सहजनाथ साझेदारी वन व्यवस्थापन समितिका प्रतिनिधि समेतको संयुक्त सहभागिता रहेको थियो।

बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय मधुवन अन्तर्गतको इलाका वन कार्यालय ककडीमा घाटगद्दी गरि राखिएको छ।

अन्य सम्बन्धित समाचार:  जसले १७ दिन हिडेर आएपछि सीमामा प्राण त्यागे

छापामारीका क्रममा काठ तस्करीमा संलग्न परिवारका सदस्यहरूसँग केही बेर झडप हुने अवस्था सृजना समेत भएको थियो।

वास्तविक परिमाणको आधारमा काठ बरामद भएका घरहरूको छानविन र अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने डिभिजन बन कार्यालय बाराका प्रमुख मंजुर अहमदले बताए।

जिल्लामा ४७ हजार एक सय ८२ हेक्टर वन क्षेत्र रहेको छ। जस मध्ये ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजी बन क्षेत्र रहेका छन्।

वन क्षेत्र भित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटोघाटोका कारण निमार्णको चरणमा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा पछिल्लो समय सबै भन्दा बढी तस्करी हुाने गरेको बताइएको छ।

 

अन्य सम्बन्धित समाचार:  भारतमा अलपत्र परेका नेपाली नागरिक स्वदेश फर्कँदै भिडियोमा