साउदीमा १३ सय ६४ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि , ७ जना नेपालीको मृत्यु

योगेन्द्र योगी, दोहा। साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार अहिले सम्म  १३ सय ६४ जना नेपालीलाई कोरोनाको सङ्क्रमण पुष्टि भएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ।

कुल संक्रमित मध्ये १७ जना महिला रहेको र अहिलेसम्म  ७ जना नेपालीको मृत्यु भैसकेको दूतावासले जनाएको छ। दूतावासले दिएको जानकारी अनुसार सङ्क्रमित नेपाली राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना नेपाली सङ्क्रमित भएका छन्।

अन्य सम्बन्धित समाचार:  ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याइयो

सङ्क्रमणबाट निको हुने नेपालीको सङ्ख्या उच्च रहेको भन्दै दूतावासले संक्मितमध्ये कतिपय निको भएर काममा समेत फर्किसकेको जनाएको छ।

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप २ हजार ५ सय ३२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६५ हजार ७७ पुगेको छ।

साउदीमा कोरोना भाइरसले ३ सय ५१ जनाको ज्यान लिएको छ। बिहीवार मात्रै १२ जनाले ज्यान गुमाएका हुन्।

साउदीमा उपचारपछि निको हुनेको सङ्ख्या पनि धेरै छ। हालसम्म संक्रमित मध्ये ३६ हजार ४० जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।