सीमा विवादको मुद्दामा भारतीय मिडियाले सामाजिक सञ्जालमा उत्पन्न गरेको तरङ्ग

काठमाडौं।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको सीमा लक्षित ट्वीट माथि नेपाली चेली तथा चर्चित अभिनेत्री मनिषा कोइरालाको प्रतिकृयाले भारतीय मिडियामा राम्रै खुराक पायो। लगतै मनिषा प्रति लक्षित हुँदै भारतीय मिडिया यसरी खनियो जसले “भारतको खाएर चीनको गीत गाउने” भन्दै तल्लोस्तरको भाषा प्रयोग गरे।

उता नेता मिनेन्द्र रिजालसँगको टेलिभिजन अन्तरवार्तालाई लिएर नेपाल लगायत विश्वमा छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा असन्तोष व्यक्त गर्दै राष्ट्रियता जगाइरहेको देख्न सकिन्छ।

भारतका अर्नभ गोस्वामीले रिपब्लिक टेलिभिजनको “दी डिबेट” नामक कार्यक्रममा नेता रिजाल, पत्रकार सुवास घिमिरे र प्रकाश रिमालसँग गरेको सवाल जवाफमाथि रहेर अनेक टिकाटिप्पणी भइरहेको छ।

सीमा विवादको विषयलाई लिएर सामाजिक सञ्जाल तातिरहेको बेला भारतीय टेलिभिजन कार्यक्रम प्रस्तुतिलाई लिएर व्यापक असन्तोष बढिरहेको छ। सोही टेलिभिजन कार्यक्रमका प्रस्तोताले नेपाल र नेपालीलाई पीडाबोध हुने रवैया देखाएपछि अनेक टिकाटिप्पणी भएका छन्।

“आफ्नो मातृभूमिको सम्पूर्ण भू भाग सहितको नक्सा विश्वमा प्रस्तुत गर्नु सहनीय कार्य हो। नक्सामा समावेश भू भागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्वीपक्षीय वा त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तराष्ट्रिय अदालत जानुपर्छ।” जि शाह अर्थात नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले सीमा विवादलाई लिएर गरेको ट्वीट हो यो।

बीबीसीका पूर्व पत्रकार तथा साझा पार्टीका संयोजक रविन्द्र मिश्र ट्वीट गर्छन्, ‘ मनिषा कोइरालाको विचारमा सहमत छु। भारतीय मिडियाले जे  गरिरहेको छ त्यो निन्दनीय छ, विश्वको कुनै पनि ठाउँमा बस्ने र काम गर्ने पनि देशभक्त रहन्छ। विदेशमा बस्ने भारतीयहरूले भारतप्रति बफादारिता प्रदर्शन गर्दा यस्तै टिप्पणीहरू गरियो भने के हुन्छ? मिश्रले लेखेका छन्।

त्यसैगरी गायक प्रमोद खरेलले ट्वीट गरेका छन्, भारतीय मिडियाको घिनलाग्दो हर्कत त चली नै रहन्छ , भारतकै आधा जनताले मन पराउँदैनन् भारतीय मिडिया, हामी त अर्को देशका मान्छे। बरु  सरकार, राजनीतिक दल , देशका उच्च पदस्थ व्यक्ति र विज्ञहरू एकढिक्का भै सोचविचार गरेर कूटनीतिक तवरले कसरी समस्या को हल गर्न सकिन्छ त्यता तिर लागौँ।’ खरेलले लेखेका छन्।

उता नेता जयप्रकाश गुप्ताले लेखेका छन्, भारतीय गोडी मिडियाको घृणित प्रचार अत्यन्त निन्दनीय छ, यस्तो कृयाकलाप नेपालीहरूलाई सह्य नहुने उल्लेख गर्दै उनले यो विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रको लागि लाजमर्दो भएको भन्दै यस्ता कार्यलाई रोक्नु पर्ने उल्लेख गरेका छन्।’

त्यसैगरी पूर्व मिस नेपाल शृङ्खला खतिवडाले ट्वीट गर्दै लेखेकी छिन्। हुर्कदै, “हामीले सँधै  नेपाल सानो देश हो भन्ने सुन्दै आएका छौं। हुनसक्छ संसारको दुई ठूला राष्ट्रहरूका बीचमा रहेकै कारण हामी सानो देखिएको होला, तर हाम्रो इतिहास सानो छैन। यो भनाइलाई परिवर्तन गर्ने बेला आएको छ”।  शृङ्खलाले लेखेकी छिन्। 

अन्य सम्बन्धित समाचार:  वीरगञ्जमा उपचाररत २१ कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज