गुल्मीका कोरोना संक्रमित पुरुषको शव गाडियो, अस्पतालले उपचार नै नगरेको आरोप

उपचार गर्दाको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने माग

बुटवल। बिहीबार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मी मदाने घर भएका पुरुषको शव जंगलमा गाडिएको छ। मृत्यु भएको ३१ घण्टा पछि उनको शव नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले अस्पतालबाट निकालेर बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडेको बताइएको छ।

त्यसो त बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाए पछि शव बिर्सजनमा समस्या आएको थियो।

शुक्रबार सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा व्यवस्थापन गर्ने प्रयत्न पनि सफल हुन नसकेपछि स्थानीय प्रशासनले कोरोना विशेष अस्पताल समेत रहेको बुटवल धागो कारखानाको पूर्वतर्फको जङ्गल क्षेत्रमा लगेर शव गाडेको हो।

अन्य सम्बन्धित समाचार:  क्वारेन्टिनमै कुर्सीमा बसेर फोन गरिरहेका वडाध्यक्षको मृत्यु

कोरोना पोजेटिभ देखिएपछि अस्पतालले बिरामीको उपचारै नगरेका कारण मृत्यु भएको परिवारको आरोप छ। बिरामीको ढाडबाट पानी निकाल्नुको कारण र त्यसका सम्भावित जोखिमबारे अस्पतालले परिवारका आफन्तसंग कुनै जानकारी नगराउनुको कारण, कोरोना पोजेटिभ देखिएपछि गरिएको उपचार सेवाको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने परिवारको माग छ।

मृतकसंगै स्वाब संकलन गरिएका मर्चवारका पुरुषको पहिचान गरी पुनः परीक्षण गरिनुपर्ने पनि मृतकका आफन्तको माग छ । आफ्ना मागबारे प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललाई समेत जानकारी गराएको उनले बताए।