म टुटेको तारा भएँ….

~ ध्रुबराज जोशी

तिमी भन्ने गर्छौ रे !
म बदलिएँ,
तर खासमा बदलिएका त
तिम्रा वाचाहरु थिए
बदलियौ तिमी तर
सपनाका महलहरु त मेरा पो भत्किएका थिए
हो,प्रेम कहानीका पानाहरु
हामी दुबैका जलेका थिए
सपनाका भित्ताहरुले थिचिएर
दिलमा दन्केको आगोले पोलिएर
आफू जल्दाको धुवाँले पिरोलिएर
म पनि थोरै बदलिएको हूँला
तर बदलिएर के नै भएँ र आखिर
भएँ त केवल बेसहारा भएँ
तिमी के भयौ थाहा भएन
म त टुटेको तारा भएँ ।

चोक चोकमा चक्कर लगाउँदा
थाकेपछि खाएको ठक्करले बनेको
म बिदेशीको नोकरको
स्वदेशमै केही गर्ने रहर त थियो नि
जब अथाह यातना दियो हर प्रहरले
जब इमान बेच्न थाल्यो सहरले
बाँच्न गाह्रो पर्यो साम्प्रदायिकताको कहरले
अधिकारका निम्ति सरकार विरुद्ध
म त निस्किएको नारा भएँ
तिमी के भयौ थाहा भएन
म त टुटेको तारा भएँ ।

गल्ली गल्लीमा मेरो बिवशतालाई
चरम बलात्कार गरियो
स्वतन्त्रतामा तारबार गरियो
हजार अत्याचार गरियो
न्याय र कानुनलाई चौराहामा लम्पसार पारियो
स्वाभिमानको खुल्ला व्यापार गरियो
हातपाउ काटिए सार्वभौमसत्ताका
संस्कृतिलाई तडिपार गरियो
मेरो सबथोक लुटिएपछि मेरो वर्ग छुट्याइयो
मलाई पाल्ने नारा घन्काइयो
प्रार्थना गर्दै आए मलाई
किन्न,बेच्न,लिलाम गर्न
दशैँमा खसीले पाउने मोल जत्ति
मेरो मत मोलाएर गए मेरा व्यापारी नेताहरु
अनि म चुनावमा सर्वहारा भएँ
तिमी के भयौ थाहा भएन
म त टुटेको तारा भएँ ।

तिम्रो झूठो दुनियाँले
म प्रतिको विश्वास मारेपनि
सरकार ! तिमीले पछारेपनि
मैले सर्वस्व हारेपनि
हिम्मत हारेको छैन
आश मारेको छैन
सत्यमा अडिग छु
कदम पछि सारेको छैन
भ्रष्टाचारको विरोधी बनेको छु
अत्याचार बग्ने तारमा अवरोध बनेको छु
तिम्रो पापको प्रतिशोध बनेको छु
समाजमा अपवाद जस्तै भएको छु
र पनि लड्दै छु समाजकै लागि
किनकि म पनि यसकै एक हिस्सा हुँ
त के भयो आखिर आज आवारा भएँ
तिमी के भयौ थाहा भएन
म त टुटेको तारा भएँ।

जूनकीरीलाई उज्यालो देखाउँदै हिँडे
झ्याउँकीरीलाई धून बजाईराख्न सघाएँ
सल्लाहरुको रुखो गीतमा सुर मिलाएँ
गुमनाम कविका पंक्तिहरुमा छन्द मिलाएँ
भ्यागुताको पिठ्युँमा पानी खन्याएँ
छेपाराहरुको रंगले होली खेलेँ
औँशीको रातमा जूनलाई टर्च देखाएँ
गाउँका पाखा अनि रनवनसंग
तनमन देखिको गहिरो पिरती लाएँ
र पो लाग्न थाल्यो
म जस्तै बेसहाराका लागि
सायद म साहारा भएँ
तिमी के भयौ थाहा भएन
म त टुटेको तारा भएँ ।

बिहानीका रवि किरणले
मलाई पनि तिमीलाई जत्तिकै न्यानो दिन्छ
चन्द्रमाले उत्तिकै शीतलता र
चौतारीको पीपलले तिमीलाई जत्तिकै छायाँ दिन्छ
पवनले बराबर हावा दिन्छ
मलाई पनि बादलले उत्तिकै वर्षा दिन्छ
प्रकृतिले हेपेको छैन
उसबाट लिन जान्नुपर्छ
उसलाई अनुभव गर्न सक्नुपर्छ
जुन म सक्छु तर तिमी सक्छौ जस्तो लाग्दैन
म सूर्योदयमा बज्ने सरगम महसुस गर्छु
तिमी गर्दैनौ होला
चन्द्रमाको न्यास्रो आकाशको आँशु ठोक्किदैँ
रन्थनिएर बग्ने खोलाको पीडा मैले महसुस गर्छु
तिमी गर्दैनौ होला
राति उड्ने उल्लु नग्न भई
दिउँसै हिँड्दाको लाज म बुझ्छु
तिमी बुझ्दैनौ होला
तिमीले बहुलाएको ठान्यौ मलाई
तर मैले तिम्रो मट्याङ्ग्राको शिकार भएको
चराको गुँडमा रहेका चल्लाको भोक महसुस गरेँ
सहन सकिँन र उनको चारा भएँ
तिमी के भयौ थाहा भएन
म त टुटेको तारा भएँ ।

तिमी आजाद भयौ
प्रेममा आवाद मेरो मन बर्बाद पारेर गयौ
फेरि पनि म यहीँ छु
देशलाई माया दिएकै छु
छेउ पर्नेलाई छायाँ दिएकै छु
बेहया मूर्खहरुलाई दया दिएकै छु
एकनाश बगिरहन्छु भन्ने तिमी
मौसम अनुसार बहाव फेरीराख्छौ
जिम्मेवारी भूलेर तमाशा हेरिराख्छौ
म बदलिए पनि मेरो लक्ष्य स्थिर छ
दृढ संकल्प छ उद्देश्य गम्भीर छ
तिमी सुसेल्दै बगिरहनू नसोधी मलाई
कि म कसका लागि किनारा भएँ?
तिमी के भयौ थाहा भएन
म त टुटेको तारा भएँ ।