स्वतन्त्रताको यात्रा

– ममता पन्त मिश्र

गर्मीको महिना अनि तराईको ठाउँ। तातोले बसिसक्नु थिएन। न त घरबाहिर बसिसक्नु, न त भित्र नै। उकुस मुकुस गर्मीमा कन्चटबाट बगेको पसिना हत्केलाले पुछ्दै सानी आफनो कोठाको झ्याल बाहिर हेर्छे।

झ्याल नजिकैको आँपको बोटमा केही चराहरू गर्मीले प्याक प्याक गर्दै बसेका देखिन्छन्। अनि अलि पर गोठमा भैंसी र बाख्राहरू आलस्य मानेर पराल चपाई राखेका।

‘ओहो! केहो त्यो पारि क्षितिजमा?

धुलो र धुवाँको तुवाँलो माझ अल्लमलिएका घामका ताता लप्काहरु छायाँ जस्तै गरी पसारिएका ! सायद मिराज भनेको त्यही होला ! कस्तो हेर्दै आँखा तिरमिराउने कहाली लाग्दो दिन’, ऊ भन्छे- “पोहर त यस्तो गर्मी भएजस्तो लाग्दैन, यो बर्ष त अचाक्ली नै होला जस्तो छ।‘

निकैबेर त्यही झ्यालअगाडि उभिएर बाहिर हेर्छे सानी। मनभित्र सधै झैँ एक तमासको उकुसमुक़स छ उसको। ऊ सोच्छे, केही फरक छैन ब्रम्हाण्डको ऊकुसुमुकुस र मनभित्रको उकुसमुकुसमा, दुबैले उत्तिकै सकस दिने अनि उत्तिकै पोल्ने।

लामो शासमा आफूभित्रका असंतुष्टिहरू मिसाउदै आफ़्नै सोँचमा हराउँछे।

आकाशमा बादलको नाम निशानी छैन। पानी नपरेको पनि निकै दिन भैसक्यो, खोई कति दिन यस्तो खडेरी पर्ने हो? आफ्नो पसिनाले निथ्रुक्क भएको अनुहारलाई सानो रूमालले पुछ्दै ऊ कोठाको झ्याल खोल्छे। तातो हुस्स परेको हावा बत्तिदै उसका खुला झ्यालबाट भित्र छिर्छ। ‘ओहो! कहाली नै लाग्दो छ।तराईको गर्मी यस्तो हुन्छ भन्ने त कल्पनामैँ थिएन।’

हत्त न पत्त झ्याल बन्द गर्छे।

हुन पनि काठमाडौँमा हुर्केकी बिचारी सानीलाई यो तराईको गर्मीको के ज्ञान होस् ! कसरी रामेशसंग बिहे भएर यता आएँ भन्ने सोँच्दै उ खाटमा डंगरंग ढल्छे।

आफूमाथिको दलिनमा खिटिक खिटिक गर्दै मन्द गतिमा घुमि राखेको थियो पंखा, पूरा पावरमा चलाउदा पनि। खिट्खिटे पंखाजस्तै बिनागति घुमिरहे झैँ लाग्छ जीवन। अनि रित्तो दलिनजस्तै रित्तो र खोक़्रो लाग्छ आफ्नो संसार।

‘ओहो! निराशताका यी शब्द कसरी प्यारा लाग्न थाले मलाई?’

ऊ भन्छे, ‘यति चाडै आदत बदली सकेछ, आफैलाई थाहै छैन। आखिरमा आदतै त हो मानिसको पहिचान बदल्ने पनि। मेरो पहिचान पनि त बिस्तारै बदलिदैछ। कहाँ यस्तो थिएँ र म बिहे अघि? कति चंचल र खुशी रहन्थेँ। सजीवताको नमूना भन्थे मलाई। तर आजकाल त निर्जीव झैँ भैसके।

जिन्दगी बदलिएपछि सोँच बदलिन्छ, अनि सोँच बदलिएपछि सबै कुरा बेग्लै देखिन्छ, बेग्लै महसुस हुन्छ। जब बर्तमान निरर्थक हुन्छ,अनि आँखामा अन्योलको भविष्य देखिन्छ।विवशताको महसूस हुन्छ। यस्तो जीवनको परिकल्पना कसले गरेको थियो र?

आमा सानैमा बित्नु भएपनि बाबाले माया गरेर हुर्काउनु भएको। कहिल्यै आमाको अभावको महसुस नै भएको थिएन। बिचरा बाबालाई पनि त कति गाह्रो भएको थियो होला आमापनि बनेर माया दिनुपर्दा? भन्छन् बाउले आमाले जस्तो माया दिनै सक्दैन भनेर। कहाँ सधै सबैमा यो लागू हुन्छ र?

एकाएक उसको मनभित्र उर्लेर आएका भावनाहरुले बाबाको न्यास्रो बढाउँछ र अनायास बाबालाई भेट्ने चाहनाले छटपटी बढ्छ तर घरका आइमाई मान्छेहरू माथि लगाएका प्रतिबन्धहरू तोड़न त्यति सजिलो कहाँ छ र? आफूबाहेक घरका सबै मान्यजन यहाँ। अनि मान्यजनको अनुमतिबिना रूखको एउटा पात झार्न पनि मनाही छ। बली चढाउन दिएको बोकाको झैँ छ जीवन,जता जता घिसार्यो उतै घिस्रनुपर्ने,जे जे भन्यो त्यही गर्नु पर्ने। अधिकारको नाममा त केही छैन। के सबै घरभित्र यस्तै हो? मेरो बाबाको घरमा त यस्तो थिएन त !

मनभित्र आक्रोशको ज्वाला बल्छ सानीको।

जब मनका पीडाहरु फैलदै जान्छन् अनि पीडाहरू घाउ बन्छन्। मनभित्र उठेका असंतोषका आवाजहरू घाउ बनिसकेछ ऊ भित्र। त्यो पनि थाहै नपाई। मनभित्र गुम्सिएका सकसहरू बिसाउन कुनै ठाउँ हुनुपर्ने अनि एक्लोपन मेटाउने कुनै माध्यम हुनुपर्ने। पिजडाको सुगाजस्तो जीवन कति कष्टप्रद छ?

ऊ छट्पटाउँछे र मनको भँडास त्यहि नजिकै टेबलमा राखेको कागजमा ऊतार्न कोशिस गर्छ।

लेख्नपनि त्यति सजिलो कहाँ छ र? शब्दहरु कागजमा ऊत्रनै सक्दैनन्। ऊ सोच्छे, मनलाई तस्बिर बनाएर कागजमा उतार्न सक्ने भए कस्तो हुन्थ्यो? हातको कलम अनि टेबलको कागज हेर्दै अनायासै आफ्नो बाल्यकाललाई नियाल्न पुग्छे। त्यति टाढाका दिन होईनन् ती बाल्यकालका दिनहरू। कति बर्षकी भएँ र ? भर्खर बीस त भएँ !

आशाको ज्योती थियो बाल्यकाल। आकांक्षाका लहरहरू तरंग बनी मन मस्तिष्कमा गुन्जन्थे त्यतिखेर। हरेक सपनाहरू साकार बन्ने सन्देश दिदै जीवनलाई सजीवता प्रदान गर्थ्यो। साँच्चै भन्ने हो भने त आजकाल फेरि त्यही बाल्यकालको दिनमा फर्किन मन लाग्छ। कति कठिनाईका बावजुद पनि जीवन कति प्यारो थियो त्यतिखेर !

कान्छी आमा कति कड़्किनु हुन्थ्यो। वचन लगाउनु हुन्थ्यो अनि बाबालाई समेत भड़काऊने प्रयत्न गर्नु हुन्थ्यो। बाबाले धेरै माया र महत्व दिने हुँदा कान्छी आमाका ब्यंग्य र दुर्व्यवहार कुनै मान्य राख्दैनथ्यो।

तर आजकाल त मनका हरेक चाहनाहरु आशामा परिणत भएको छ,एउटा झिनो आशाको सधै हृदयको कुनामा अल्झिरहन्छ। ऊ सोँच्छे आजकल त हरेक खाली समयमा मनपनि बालापन आँगनीमा बितेका दिनहरुमा दौड़ने गर्छ। कति आनन्ददायी दिनहरु थिए ती न शोक,न सुर्ता। न कोही रिसाउला भन्ने डर, न अपमानित हुनु पर्ला भन्ने भय।कति छिटो बितेझैँ लाग्छ ती खुशी पलहरु। आखा झिम्कियो,दृश्य बदलियो भने झैँ,आँखा झिमिक्क गर्दा बिते ती खुशीका दिनहरु।जीवन त बालककालको आगनीमा ज़स्तै खुला र निर्धक्कको हुनुपर्छ जहाँ खुलेर शास फेर्न अनि निर्धक्कले हाँस्न पाईयोस् ! स्वतंत्र भई बाँच्न पाइयोस् !

तर आजकाल त सबै बदलियो। ज़िंदगी बदलियो,मन बदलियो। जब सबै बदलिएको महसुस हुन्छ अनि दुनियाँ नै बिरानो हुन्छ। आफ्नो बाल्यकाल बिरानी लाग्छ अनि त्यो गाउँ, त्यो बस्ती,ती साथी संगी सबै बिरानो लाग्छ। हुँदा हुँदा आफ्नै बाबाको आँगनी पनि बिरानो लाग्छ।

पोहोर कति लामो समयपछि बाबालाई भेट्न जाँदा, कान्छी आमाले आफ्नो कोठा भाडामा लाएको पाउदा मन कटक्क खाएको थियो। भाइले कति दिन बस्नुहुन्छ दिदी तपाई भन्दा आफ्नो बाल्यकाल बितेको घर होटेल झैँ लाग्याथ्यो। आफू त त्यो घरमा पाहुना भएछु भन्ने बोध हुदा भित्रैदेखि छाती कटक्क दुखेथ्यो।

दुई शब्द कोरेर अडिएका कलम हेर्दै सानी सोँच्छे, बाबाले तिम्रो घर भनेर पठाएको यो घरमा किन कहिले कसैले आफ्नोपनको आत्मबोध हुन नै दिदैनन्। स्वतंत्रताको शास फेर्न पाउनुपर्ने घरमा सधै निसासिएर शास फेर्न गाह्रो हुन्छ। अनि यस घरको ढोकाबाट भित्र छर्नेबित्तिकै आफूलाई दासत्वको हीनताबोध हुन्छ।

प्रजातन्त्र, प्रजातन्त्र भनेर कुर्लने रामेशले आफ्नो घरभित्र जहानियाँ शासन चलाउँदा जिन्दगी अघि बढाउन कति कठिन भएको छ। अधिकार मागेर हैन खोसेर लिनुपर्छ भन्छन् तर मैले त न मागेर लिन सकेँ, न त खोसेर नै। जहाँ मुख खोलेर दोहोरो कुरा गर्न प्रतिबन्ध हुन्छ, त्यहाँ अधिकारको लागि आवाज उठाउन त ठूलै शाहस हुनुपर्छ। ऊ हातमा कलम लिएर यस्तै सोँचमा बिलीन हुन्छे।

घर के हो? घर कस्तो हुन्छ? सायद पल्लो घरकी सुरी हजुरआमाले भने झै स्वास्नीमान्छेको घरै हुदैन। उहाँ भन्नुहुन्थ्यो, ‘हेर नानी ! छोरीको त घर नै नहुने रैछ। यता बाउको घरमा आयो, दाजुभाइले ‘मेरो घर’ भन्दै आफूलाई छिनभरमै पराई बनाईदिन्छन्। उता श्रीमानले ‘मेरो घर’ भन्दै छिनभरमै आफूलाई बेघर बनाईदिन्छ। बाल बच्चा भएपछि छोराले ‘मेरो घर’ भन्छ। आईमाई जातको त आफ्नो घर बनाउने सपना देख्दा देख्दै यी म जस्तो थोते बूढी हुन्छे।’ सुरी हजुरआमाले थोते दाँत देखाएर उदासी हाँसो खिस्स हासेको आजकल सधै सपनामा देख्ने भएकी छ सानी।

मनभित्र चलेका भावनाका द्वन्दहरू समुद्रमा उठेका ज्वारभाँटा जत्तिकै थिए-जोडले उकासिदै अनि पछारिदै थिए ती अनायासै मनका आवेगहरुसंगै आँख़ा पनि रसाउछन् सानीका।

‘ कमजोरहरु पो रुन्छन् तर म कमजोर हैन।” आँख़ामा टलपलिएका आँशुहरु हत्त्केलाले पुच्छे।शीतले रूझेका दूबोहरू झै उसका आँशु भिजेका परेलीहरूबाट चिहाएका उसका नजर आफ्नै हातका औंलामा च्यापिएका कलममा गएर अडिन्छन् फेरि।

उ सोँच्छे, रामेशको राष्ट्रभक्ति, आदर्शबाद, राजनीतिमा लगाव,बफादारी र इमानदारीताको धेरैले बयान गर्छन्। यिनै थिए उसको बाबाले पनि महत्व दिएका रामेशका बिशेषताहरु।

यी त घर बाहिर उनलाई बिशेष बनाउने उनका बिशेषताहरू थिए तर उनको घर बसाउन त यी गुणहरुको के आवश्यक? माया, मोह, श्रद्धा र सम्मानबिनाको यो घर त धमिरोले खाएको काठजस्तै भएको छ- खोक्रो। साना साना भूकम्पका धक्काहरुले पनि धुजा धुजा भएर चर्किराखेको छ। यसैगरी चर्किरहने हो भने त अबको केहि बर्षपछि भत्किन्छ यो घर, चुरचुर भएर। अनि चाहेरपनि यसलाई बनाउन या बचाउन सकिदैन।

एउटा सक्षम र सफल नेताले अवश्य देश बनाउँछ,जनतालाई न्याय दिलाउछ तर आफ्नै घरभित्र अन्याँय ग़र्नेले यत्रो जनतालाई न्याय कसरी दिन्छ? आफ़्नो घर बनाउन नसक्नेले देश कसरी बनाउन सक्छ?

रातदिन पार्टी कार्यालय भौतारिएर, नारी स्वतन्त्रताको नारा लगाऊदै, समानताको गाना गाएर दुनियाँ हाँक्ने मानिस आफ़नो घरभित्र चाहिँ किन सामन्त बनेन मन पराउँछ? रामेशले हरेक कुरामा रोक लगाएको छ उसलाई। उ होच्याउँछ,गिराउछ सानीलाई। केही गर्न नसक्ने नाकाम कमजोर भनी अपमान गर्छ।

आज तराईको गर्मीमा एउटा नपढेको गाउँले आईमाई जत्तिकै कुचो र चुलो गरी दिन बिताऊनुपर्दा अनि चाहेर पनि आफ़नो शिक्षाको सदुपयोग गर्न नपाउँदा ऊ रामेशलाई घृणा गर्न थाल्छे। कठै ! मेरा कलेजका किताबहरु! उ सम्झिन्छे, पछाडिको गोठमा थुप्रिएका किताबको चाङहरु उत्साह, उमंग र लक्ष्यबिनाको जीवन, चिनीबिनाको चिया झैँ खल्लो हुन्छ।

अनायाश उसका आँखा अस्ति तातो तेलले पोलेर बनाएको फोकामा पर्छ। अलि सेप्रिएछ फोका, ऊ सोच्छे। यहाँ घाउ बन्छ केहि छिन, अनि केहि दिन दुख्छ,अनि आफै सन्चो हुन्छ। घाउ हेरेर कसैले कठै भन्दैनन्। मनभित्र नमीठो पीडा असह्य भई उत्रिन थाल्छ। ज्याजदी बढ्दै गएपछि सहनशीलताको हद टुट्दो रैछ।

ऊ भन्छे, ‘कहिलेकाहीँ त यो सबै जन्जाल छोडेर जोगीनी बनिदिऊँ कि जस्तो पनि लाग्छ।’ यो जीवनपनि त जोगीनीको भन्दा कम कहाँ छ र? घरमा यी सामन्तीहरुको भक्ति गर्नुभन्दा त मन्दिरमा त्यो ढुंगालाई नै पुजेर त्यसमै तल्लीन हुदा बरु जीवनमा शान्ति मिल्छ होला। मन्दिरमा के हुदैन र? पैसा, प्रसाद सबै हुन्छ तर त्यै मन्दिरको वरिपरि खाली पेट र खाली थालीमा भिखारीहरु रहेका हुन्छन। सम्पन्न घरभित्र भिखारी हुनुभन्दा त बरु भगवानको घर बाहिरको भिखारी हुनु शान्तिप्रद हुन्छ होला। तर के गर्नु? बाबाको इज्जतको लागि पाईलाहरु रोकिन्छन्।

यिनै सोचहरुका अन्तसंगै उसका आँखाहरू फेरि खाली कागजका पानामा दौडन्छन्।त्यही दुई शब्दबाहेक अरु केहि कोरीएका थिएनन् कागजमा। मनभित्रको नमीठो बेदनाले छाती भारी हुन्छ। प्रकृतिको धुपभन्दा पनि जीवनको धुपको गर्मी सही नसक्नु हुन्छ। आफ्नो लाचारीलाई आफ्नो भाग्यको नाम दिदै ऊ त्यो दुई शब्द कोरिएको कागजलाई धुजा धुजा पारेर रद्दीको टोकरिमा हाल्छे।

सानीको शरीर पसिनाले निथ्रुक्क भिजेको छ। नचाहँदा नचाहँदै पनि आँखाबाट आँशुको भेल बग्छन्। तर आँखाका आँशुहरु बग्न नपाई फेरि बाफिएर उड़छन्।

मूल्यहीन भए यी आँशुहरु। बर्खाको भेल झैँ बग्छन् अनि आफै सुक्छन्।उसको मन भरंग हुन्छ। घरको चार दिवार हेर्छे,कतैबाट पनि आफ्नो जस्तो लाग्दैन यो घर। न त यो घरका कोही मानिस आफ्नो जस्तो लाग्छ। अनि सोच्छे, ‘घर त कहिले थियो र आफ्नो? न हिजो, न आज। तर शिरमाथि छत छ। अरुले देख्दा मेरो घर छ, मेरो आफन्त छ।‘

त्यसैबीच मूल ढोका घन्द्रंग खोल्दै रामेश भित्र छिर्छ।

फोनमा कसैसंग चर्को स्वरमा भन्दै थियो, ‘यसरी अन्याँय र अत्याचार सहिरहने हो भने, हेरिरनुस यो देश अब देश रहदैन। हामी आफ्नै घरमा बन्दी हुन्छौ। हाम्रो घर हुदैन, हाम्रो नाम हुदैन, पहिचान हुदैन। केहि गर्नुपर्छ हामीले। हामीले नारी आवाजलाई पनि आफ्नो आन्दोलनको मूल मन्त्रको रुपमा लिनु पर्छ।नारीमाथि हुने अत्याचार बिरुद्द आवाज़ उठाउँदै आज नारी समानताका लागि लडिरहेका ति ठूला आवाजमा कुर्लने नारीहरुलाई आफ्नो पक्षमा ल्याउनु जरुरी छ। नारी शक्ति हाम्रो लागि महत्वपूर्ण हुनेछ, हाम्रो सफलताको लागि यो जरुरी छ।’

उसको आवाजहरू झन् झन् ठूलो स्वरमा गुंजिरहेका छन्।
‘यी सामन्तीहरूलाई सधै यसै गरि शासन गर्न दिने हो भने एकदिन हामी आफै आफ्नो अस्तित्व खोज्दै हिडिरहेका हुनेछौ, हामी दास बन्नेछौँ,हामी आफ्नो घर खोजिरहेका हुनेछौँ अनि आफ्नो पहिचानको लागि रोइरहेका हुनेछौ। हामीले चाडै नै यस बिषयमा छलफल गर्नुपर्छ।’

रामेशको पाखण्डी र ढोंगीपनले सानीको हृदयमा बिद्रोहका आवाजहरु उठ्छन्। उसको अनुहारको मकुण्डो उतारेर उसको असल चेहरा दुनियाँ सामु देखाऊन मन लाग्छ उसलाई तर उताबाट आएको रामेशको ठूलो स्वरको गालीले उसका आक्रोशहरू सेलाएर पानी पानी हुन्छन्।

ऊ झसंग हुन्छे। सधै झैँ मन थर्रर हुन्छ। उ दौड्दै रामेश भएतिर जान्छे।

‘म आएको थाहा पाईनस्? नाठोको सपना देखिरहेकी थिईस् कि के हो? ‘जा मलाई चिसो सर्बत बनाएर ल्या।‘

कति तिक्तताले भरिएको बोली? उ सोँच्छे-अघि भर्खर सामन्तवाद बिरुद्द फोनमा चिच्याई रहेको ऊ आफ्नो घरभित्र कसरी सामन्त बनि कुर्लीरहेछ? कसरी थर्काउँछ, तर्साउछ !

द्वैध चरित्रमा कसरी बाँचिरहेछ ऊ? सानी रामेशको हातमा सर्बतको गिलास थम्याउँछे र मूल ढोका खोली बाहिर निस्किंछे।

बाहिर व्हास्स बहेको तातो हावाले उसको छालामा स्पर्श गर्छ।

चट्किने तातो भएपनि बाहिरको खुला हावा त्यो चार दिवारभित्रको हावाभन्दा धेरै मिठो लाग्छ उसलाई। घरको मूल ढोकाको छेउमा रहेको पिंजडामा बन्द सुगालाई खुला गर्दै ऊ भन्छे, ‘स्वतन्त्रता हरेक जीवनको अधिकार हो। बल र त्रासले कसैलाई बन्दी बनाउनु अपराध हो।’

भित्र रामेश झन् झन् ठूलो स्वरमा कराउँदै उसलाई बोलाउदै थियो।

उसले भने अब चार दिवारभित्र निशास्सिएर एउटा अबोला नारीको जीवन नबिताउने निर्णय गर्दै आफ्नो स्वतंत्रताको यात्रा तय गरी सकेकी थिई।
– अष्ट्रेलिया