घरको खाना क्वारेन्टाइनको बास 



रिदम सिंह,बझाङ।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा खाना नपाएको गुनासो युवाहरूले गरेका छन्। भारतको काँसिपुरबाट मङ्गलबार बेलुका नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्न पुगेका जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का धिरेन्द्र बोहरा, वडा नम्बर ११ का विजय धामी र कलक धामीले क्वारेन्टाइनमा खाना नपाएको गुनासो गरेका हुन्।

आफूहरूले पटक पटक चिनेजानेका ब्यक्तिहरू र जनप्रतिनिधिलाई  खानाको बन्दोबस्त गरी दिन बताए पनि कसैले चासो नराख्दा भोकले सताएपछि सदरमुकाममा डेरा गरि बस्दै आएकी कलक धामीकी दिदी काली धामीको कोठामा गएर तिनै जनाले बुधबार दिउसो खाना खाएको बताएका छन्।

बाटोमा आउँदा तीन दिन सम्म खाना नखाएको बताउँदै उनीहरूले क्वारेन्टाइनमा समेत छुट्टै खानाको ब्यवस्था नभएकाले भोकले मर्नु भन्दा दिदीको कोठामा गए पनि कोठा बाहिर बसेर खाना खाएर क्वारेन्टाइनमा फर्केको सुनाए।खाना खाएको थाली, कचौराहरु समेत अलग राखेको धामीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५० पुग्यो

जिल्ला प्रहरी कार्यालय बझाङ नजिकै रहेको चर्चमा नगरपालिकाले क्वारेन्टाइनको ब्यवस्था गरेको थियो।  भारत बाट आएका ९ जना सोही क्वारेन्टाइनमा छन्। उनीहरूका लागी भने खानबस्नको बन्दोबस्त ब्यवस्थीत रहेको छ। उनीहरू केही दिन अघि मात्रै भारतको दिल्ली  बाट आएकाले खानबस्नको बन्दोबस्त गरेको भएपनि तीन जनाले भारत बाट आएकाहरू सँगै खान बस्न नसकिने भनेपछि समस्या सृजना भएको हो।

आफूहरु पनि सुरक्षित हुनु पर्ने र अरुलाई पनि सुरक्षित राख्नु पर्ने भन्दै आफूहरूले उनीहरू सँग खाना नखाएको र आफूहरुलाई समेत खानाको बन्दोबस्त नगरपालिकाले यतै गरेको छ भन्ने कुरा कसैले पनि नभनेपछि कोठामा गएर खाना खानु पर्ने बाध्यता भएको कलक धामीले बताए।

कोरोनाले भन्दा भोकले मर्नु पर्ने अवस्था आएको धिरेन्द्र बोहराले गुनासो गरे। क्वारेन्टाइनमा आउनेहरूले तीन पुस्ते सम्म नाम ठेगाना लेखेर र कतिपयले फोटा खिच्दै लैजाने गरे पनि खान बस्नको बन्दोबस्त कस्तो छ? सरकारले बनाएको मापदण्ड अनुसार क्वारेन्टाइन ब्यवस्थीत छ या छैन? भन्ने विषयमा चासो नदिएको धिरेन्द्र बोहोराले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवतीसहित चार जनामा कोरोना भाइरस पुष्टि

फोन गर्न समेत चार्जरको ब्यवस्था नभएको गुनासो गर्दै  यो विषयमा सरोकारवाला निकायले ध्यान दिन पर्ने उनले बताए। जयपृथ्वी नगरपालिकाकी उप प्रमुख जुना जाग्रीले भने यस्तो समयमा सबैले मिलेर बस्नु पर्ने बताईन्। सबैको खाना र बस्नका लागी नगरपालिकाले भ्याए सम्म काम गरीरहेको बताउँदै उनले तीनै जनाले नबुझेर बाहिर गएर खाना खाएको जानकारी दिइन्।

अहिले नगरपालिकाको विभिन्न क्वारेन्टाइनमा ९ जना महिला, १२ पुरुष र २ जना बालबालिका रहेको जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनक बहादुर सिहँले बताए।

यस्तै जिल्लाका विभिन्न स्थानीयतहहरुले निर्माण गरेका ९३ वटा क्वारेन्टाइनमा  १ हजार ८३ जना भारत तथा बाहिर बाट आएका ब्यक्तिहरू रहेका छन्।