उच्चस्तरीय समितिको आज बस्ने बैठकले लकडाउन खुकुलो बनाउने संकेत

विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव

काठमाडौ। लकडाउन खुकुलो बनाउने प्रस्तावलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आज अन्तिम रुप दिने बुझिएको छ। सिंहदरबारमा दिउसो बस्ने भनिएको समितिको बैठकले असार एक गतेदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्तावलाई अन्तिम रुप दिन लागेको हो।

उद्योग वाणिज्य, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका विज्ञहरुसँग चरणबद्ध रुपमा छलफल गरेपछि समितिले प्रस्तावलाई अन्तिम रुप दिन लागेको बुझिएको छ। जसमा दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउने प्रस्तावका अलवा सुरुका दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना समेत रहेको छ।

समितिले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको हो। लकडाउनले मात्र दैनिक जीवन यापनमा सहजता नभएपछि स्वरुप परिवर्तन गर्न पर्ने नीजि क्षेत्रको पनि माग रहेको थियो।

जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन नै उचित हुने सवै क्षेत्रको माग सम्वोधन हुने गरि अघि बढ्ने योजनालाई समितिले मूर्त रुप दिने भएको हो।

अन्य सम्बन्धित समाचार:  धनगढीमा उपचाररत चार सङ्क्रमितको मृत्यु

यस अन्तर्गत पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी रहेको छ भने प्रस्तावलाई आजै साँझ बस्ने मन्त्रीपरिषद बैठकले पारित गर्ने समेत तयारी भएको बुझिएको छ।

यसअघि जेठ १७ गते बसेको मन्त्रीपरिषद बैठकले समितिलाई लकडाउनको नयाँ स्वरुप टुंगो लगाउने जिम्मेबारी दिएको थियो। एक साता लामो छलफलपछि समितिले त्यसलाई अन्तिम रुप दिन लागेको हो। पछिल्लो समय तोकिएको लकडाउनको अवधि यही ३२ गते सकिनेछ।