बस्ती जोगाउन  तटबन्ध र नदी च्यानलाईजिङ्ग कार्य गर्दै निजगढ नगरपालिका

श्याम गुप्ता
बारा।  बाराको निजगढ नगरपालिका वडा नम्बर ४ स्थित बकैया नदीमा अहिले वर्षातको समयमा खोलामा आउँने बाढी गाउँ पस्न नदिन बकैया खोलालाई च्यानालाईज गर्ने कार्य भइरहेको छ। अघिल्लो वर्षको बाढीले पूर्वी तटबन्ध कटान गरे पछि नगरले वर्षात अघि नै काम सक्ने गरी खोलालाई च्यानालाईज गर्न थालेको हो।

नदीले धार परिवर्तन गरेर अघिल्लो वर्ष पूर्वी तटबन्ध कटान गरे पछि नियन्त्रण गर्न खोलाको धार परिवर्तन गरी तटबन्ध निर्माण सुरु गरिएको निजगढ नगरपालिकाले जनाएको छ।कार्यपालिकाको बैठकबाट निर्णय गराई ७ वटा एक्साभेटर मार्फत यति बेला खोलाको धार परिवर्तन गर्ने कार्य भइरहेको हो।

खोलाको धार परिवर्तन गर्दा जिल्ला अनुगमन तथा समन्वय समितिले दुःख दिएको र केही सञ्चार माध्यमले खोला दोहन गरेको समाचार प्रति कार्यपालिका बोर्डले आफूहरूको ध्यानाकर्षण भएको जनाएको छ।

वर्षात अघि नै नदीजन्य पदार्थको व्यवस्थित उत्खनन गरी नदीलाई च्यानालाईज गरी बस्ती जोगाउँन र वर्षात शुरु हुँन केही दिन मात्र बाँकी छँदा स्थानीयहरुले समेत बस्ती जोगाउँन व्यापक दवाव दिए पछि कार्यपालिकाबाट निर्णय गराई अहिले खोलालाई च्यानालाईज गर्ने काम भइरहेको निजगढ नगरपालिका वडा नं.४ पुरानो निजगढका जनकधारी चौधरीले  बताए।

प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदन बमोजिम नगरले खोलामा थुप्रिएको नदीजन्य पदार्थ उत्खनन एवम् वितरण गर्न ठेक्का आव्हान गरेको थियो। खोलालाई ६ वटा प्लटमा विभाजन गरी एक करोड २२ लाख ४३ हजार घनमिटर नदीजन्य पदार्थ निकाल्न ठेक्का लगाएको थियो।

ठेक्का लगाउँने बित्तिकै ठेक्काको विषयलाई लिएर मुद्दा पर्नु , ठेक्का समयमा लगाउँन नसक्नु , त्यस पश्चात लकडाउन शुरु हुनु जस्ता कार्यले गर्दा खोलाबाट उत्खनन गर्न नसकिएको नगरले जनाएको छ।

निजगढ नगरपालिकाका उपप्रमुख लिलादेवी लामिछाने खनालले नगरपालिकाले नदी उत्खनन र दोहन गरेको नभई वर्षा याममा निजगढमा बाढी पस्ने जोखिम बढेकोले हाल बकैया खोला नियन्त्रणको लागि तटबन्ध र नदी च्यानलाईजिङ्ग कार्य गरेको बताइन्।

निजगढ नगरपालिकाको वडा नं. ४ , ८ र ९ हुँदै बग्ने बकैया नदिले धार परिवर्तन गरी वर्षेनी दुःख दिए पछि कार्यपालिकाको निर्णय बमोजिम खोलाको धार परिवर्तन गरी अस्थाई तटबन्ध निर्माण गर्ने निर्णय भएको उपप्रमुख खनालले बताइन्।

नदीको पश्चिम तर्फ थुप्रिएको ढुङ्गागिट्टी वर्षात अघि नै ननिकाल्ने हो भने, खोलाले धार परिवर्तन गरी गाउँ पस्ने भए पछि अहिले ठेकेदार मार्फत नै उक्त क्षेत्रको उत्खनन गराइएको र आफूहरूको प्रत्यक्ष निगरानीमा खोलाको च्यानालाईज गर्ने काम भइरहेको हुँदा ठेकेदारले बदमासी गर्न नसक्ने निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले बताए।

निजगढलाई बाढीबाट बचाउन बकैया खोलाको तटबन्ध गर्ने काम जल उत्पन्न प्रकोप कार्यालय, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम जस्ता निकायले गर्ने भएता पनि हाल सम्म कुनै ठोस् कार्य हुन सकेको छैन।