जसले सिमानामा प्राण त्याग गरेका यादवको ऋण तिरिदिए..

यादवकी पत्नी सवितादेवी यादवलाई तीन लाख नगद रक़म सहयोग

धनुषा।  अमेरिकामा ब्यवसाय चलाएर सामाजिक कार्य गर्दै आएका भएका प्रवासी नेपाली एकता मञ्चका वरिष्ठ नेता भिम कार्की र महासचिव शंकर पन्तले धनुषास्थित सहिद नगरपालिका वार्ड नम्बर ४ का स्वर्गीय वीरेन्द्र यादवकी पत्नी सवितादेवी यादवलाई रु. तीन लाख नगद रक़म सहयोग गरेका छन्। सबिताका पति वीरेन्द्र यादव गत जेष्ठ १४ गते भारतबाट पैदल फर्कदै गर्दा भोक र थकानले गर्दा सिमानामै प्राण त्यागेका थिए।

गत फागुनमा कमाउन भारतको हरियाणा पुगेका वीरेन्द्र त्यहाँको एक रबर फ्याक्ट्रीमा काममा लागेका थिए। करीब १ महिना काम गरेपछि कोरोनाको कारण फ्याक्ट्री बन्द भएको र बस्न खान नपाएपछि नेपाल फर्किदै थिए। उनी करीब एक महिनासम्मको लामो पैदल यात्रा र भोकभोकै हिडेर नेपाल छिर्दै थिए। नेपाल भारत सिमाना कै जदही नाकामा आइपुग्दा उनले गत जेष्ठ १४ गते बेलुका प्राण त्याग गरेका थिए।

साउदी अरब र युएईमा डेढ बर्षभित्र २ पटक पुगेका यादव कम्पनी बन्द भएर घर फर्केका थिए। बिदेश जाँदा लिएको ऋण बढेर ३ लाख भन्दा बढी भएको र साहुहरु जाग्न थालेपछि केही कमाउन उनी भारत पसेको उनका बाबु रामजतन यादवले बताए।

कमाउने छोराको मृत्यु भएपछि ऋण दिएका साहुहरुले कृयाकर्म स्थलमै आएर ऋण तिर्न दबाव दिएको समाचार केही दिनअघि केही मिडियामा प्रसारित भएको थियो। त्यही समाचार पढेर अमेरिकाको टेक्सासमा बिगत लामो समयदेखि ब्यवसाय गर्दै आएका बाग्लुङ्ग स्थायी घर भएका भीम कार्की र फिलाडेल्फियामा आफ्नै ब्यबसाय चलाउदै आएका रुपन्देहीको सैनामैना स्थायी घर भएका शंकर पन्तले संयुक्त रुपमा रु. तीन लाख सहयोग पठाईदिने सोँच बनाए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले माधव नेपालसँग निर्णायक वार्ता गर्ने, कारबाही फुकुवा गर्नेबारे छलफल

“यो समाचार सुनेपछि मन नराम्रोसंग पोल्यो । कृयाकर्म पनि नसक्दै ऋण असुल गर्न आउने साहुहरु प्रति घृणा जाग्यो। कमाउनको लागि खाडी पुगेको र त्यहाँ पनि सम्भव नभएपछि भारत गएको अनि कोरोनाले कम्पनी बन्द भएर आफ्नो देश फर्किदा बाटोमा मर्नुपर्ने र त्यही बेला साहु जाग्नु कति पीडादायी क्षण होला भन्ने लागेर ऋण तिरी दिने बिचार आएको हो” पन्तले भने।

पन्त र कार्कीका काठमाडौमा रहेका विश्वासिला साथी दामोदर सुवेदीले मृतककी श्रीमती सवितादेवी यादवको खातामा जम्मा गरिदिई नीजलाई पैसा बैंकमा जम्मा गरिदिएको भौचर हस्तान्तरण गरेका थिए। भौचर बुझाउने क्रममा सुवेदीले अमेरिका निवासी कार्की र पन्तले नीज यादवका २ जना बच्चाहरुको आगामी दिनको पठनपाठनको समेत जिम्मा लिएको बताए।

अबदेखि बच्चाहरुको पढाई खर्च बार्षिक नियमित यही खातामा जम्मा हुन्छ ।स्कूलको ट्युसन फी, ड्रेस, कापी, कलम, मसी र दैनिक खाजामा हुने खर्चका लागि चिन्ता लिनुपर्दैन भनी सुवेदीले भन्दा त्यहाँ उपस्थितका आँखामा आँशु आएका थिए।

उपस्थितमध्ये एक जनाले भन्दै थिए- “एक हातो केरा दिएर दश जनाले फोटो खिचाउने समाजसेवीहरुको बिगबिगी भएको बेला बाग्लुङ र रुपन्देहीका यी दुई ब्यक्तिले जिन्दगीमा खुट्टा समेत नटेकेको धनुषाको भारतसंग सिमाना जोडिएको क्षेत्रमा रहेका दु:खीको सहयोग पुर्याउनु निकै ठूलो कुरा हो।

अन्य सम्बन्धित समाचार:  नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि

अमेरिकाको टेक्सासस्थित ड्यालास सिटीमा बस्ने ब्यवसायी भीम कार्की निकै ठूलो दयालु मन भएका सामाजिक अभियन्ता हुन्। उनले टेक्सासमा बनाइएको एनएसटी(नेपाली सामुदायिक भवन) लाई करिब ५० लाख नेपाली रुपैयाँ सहयोग गरेका थिए भने यही बर्ष अमेरिकामा कोरोनाको लागि प्रवासी नेपाली एकता मञ्चले खड़ा गरेको राहत कोषमा पनि दुई हजार डलरको सहयोग गरेका छन्।

उता फिलाडेल्फिया निवासी शंकर पन्त पनि सामाजिक कार्यमा निकै अगाडी आउने नाम हो। बिगतमा प्रवासी नेपाली मञ्चको कोषाध्यक्ष र हाल महासचिव रहेका पन्तले कोरोना राहत कोषका लागि दुई हजार डलर सहयोग गरेका छन्।

हालै नेपाल भारत सिमाना ब्यवस्थापन गर्न दबाव बढाउने उद्धेश्यका साथ प्रवासीहरु बिच एकता बढाउने कामको नेतृत्व गरेका पन्त यो अभियानका एक सशक्त हस्ती हुन्। नेपालको सिमाना बारम्बार भारतद्वारा अतिक्रमण भएको अवस्थामा अब नेपालको तर्फबाट सिमानामा पर्खाल लगाउन वा नियमितता गराउन नेपाल सरकारलाई दवाव दिने र सिमानामा पर्खालको लागि बिदेशबाट आर्थिक सहयोग जुटाउने समेतको नेतृत्व पन्त सहित केही साथीहरुबाट शुरु भएको छ।

यति बेला अमेरिकाका यी दुई सफल ब्यवसायीको सत्कर्मको ठूलो चर्चा भएको छ।