बझाङमा खानेपानी आयोजना अलपत्र

मजदुरहरू भारतबाट आउन नसकेका कारण काम ढिलो

रिदम सिंह, बझाङ। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लम्बिँदै गएको लकडाउनका कारण बझाङको जयपृथ्वी नगरपालिकामा निर्माणाधीन तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र भएको छ।

लकडाउनका कारण उक्त खानेपानी आयोजनामा काम गर्ने जनशक्ति उपलब्ध हुन नसकेपछि आयोजना अलपत्र अवस्थामा पुगेको हो। साना शहरी खानेपानी आयोजना निर्माणका लागि १४ महिना अघि आशिष निर्माण सेवा र सीएवी कन्स्ट्रक्सन प्रालि जेभी ले २१ करोड ७३ लाखमा सम्झौता गरी आयोजनाको निर्माण कार्य शुरु गरेको आयोजना प्रबन्धक अभय कुमार मिश्रले जानकारी दिएका छन्। उक्त आयोजना सम्झौता भएको मितिदेखि १८ महिना भित्र सम्पन्न गरिसक्नुपर्ने भएता पनि लकडाउनका कारण निर्माणकार्य अझै लम्बिने भएको आयोजना कार्यान्वयन इकाई चैनपुरले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  हुलाकी राजमार्गमा रुख कटान कार्य सुरु

लकडाउनका कारण उक्त आयोजनाको निर्माण कार्य सम्पन्न हुन नसक्दा खानेपानीको पर्खाइमा बसेका स्थानीयवासीको प्रसस्त खानेपानी पाउने सपना पुरा हुन सकेको छैन। सेती नदीको पानीलाई पम्पिङ सिस्टमबाट भोपुरमा टङ्कीमा जम्मा गरी चैनपुर, देवल, र भोपुरका करिव १ हजार ९५ घरधुरीलाई पाइप लाइन मार्फत्त खानेपानी वितरण गरिने समेत आयोजनाले जानकारी दिएको छ।

सम्झौता भएको १४ महिना बितिसक्दासमेत हालसम्म ३६ प्रतिशत काम मात्र सम्पन्न भएको आयोजना कार्यान्वयन इकाई चैनपुरले जानकारी दिएको छ। सम्झौताअनुसार उक्त आयोजनाको काम २०७७ कार्तिक महिनामा सम्पन्न गरिसक्नु पर्ने भए तापनि लकडाउनका कारण काम अझै लम्बिँदै गएको जानकारी प्राप्त भएको छ।

तेस्रो साना शहरी आयोजनाको रिजर्व टङ्की निर्माण गर्नेका लागी मजदुरहरू भारतबाट आउन नसकेका कारण काम ढिलो भएको र मजदुरलाई ल्याउने प्रक्रिया अगाडि बढाइएको साना शहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन इकाई चैनपुरले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  डडेल्धुरामा दश दिन निषेधाज्ञा थप

बजारमा दिनको आधा घण्टा पिउने पानी दिने गरेको भएता पनि खानेपानीको समस्या भने जस्ताको त्यस्तै देखिन्छ। खानेपानीको चरम समस्या देखिएपछि सदरमुकामवासी नजिकैको बाउलीखोला र सेती नदीको पानी प्रयोग गर्न बाध्य भएका छन्। तेस्रो साना शहरी खानेपानी आयोजना समयमै सम्पन्न गरी पानीको आपुर्तिमा सहजता ल्याउनु पर्ने स्थानीयबासीले माग गर्दै आएका छ।