दार्चुलाका १० जनामा कोरोना सङ्क्रमण पुष्टि

किरन धामी
दार्चुला। दार्चुलाका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा जिल्लाका थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका ८, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक‐एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए। यो सँगै दार्चुलामा कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ।

कोरोना सङ्क्रमण पुष्टि भएकाहरूलाई आइसोलेसन कक्षमा राख्ने तयारी भैइरहेको उनले बताए। शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर क्वारेन्टाइनमा बसेका ८ जना पुरुषहरूमा कोरोना पुष्टि भएको उनले जानकारी दिए। उनीहरू भारतको महाराष्ट्रबाट आएको नगरपालिकाले जनाएको छ।

महाकाली नगरपालिकाका कोरोना पुष्टि भएका दुई जना भारतको दिल्लीबाट र लेकम गाउँपालिकाका १ जना पनि भारतबाटै आएका हुन्। गोकुलेश्वरमा कोरोना पुष्टि भएकाहरूलाई राख्न आइसोलेसन कक्षको अभाव रहेको गोकुलेश्वर अस्पतालले जनाएको छ। दुई वटा आइसोलेसन कक्ष मात्रै रहेको अस्पतालमा ८ जनालाई राख्न गाह्रो भएको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिन चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

यस्तै महाकाली नगरपालिकाका २ जना मध्य १ जनालाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा राखिएको छ भने सोमबार आज मात्रै कोरोना पुष्टि भएका पुरुषलाई क्वारेन्टाइनबाट आइसोलेसन लैजाने तयारी भैइरहेको छ। जिल्ला अस्पताल दार्चुलामा ३ बेडको आइसोलेसन कक्ष छ।