बझाङमा पिसिआर मेसिन खरिद गरिने

रिदम सिंह, बझाङ।

बझाङमा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले जिल्लामा उक्त मेसिन खरिद गर्ने निर्णय गरेको हो।

भारत लगायत अन्य मुलकबाट जिल्लामा भित्रिनेहरुको सङ्ख्या बढ्न थालेपछि र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा परिक्षण गर्दा समय धेरै लाग्ने र समयमा नै रिर्पाेट नआउने समस्याका कारण पिसिआर मेसिन खरिद गर्ने निर्णय गरिएको हो।

जिल्लामा नै पिसिआर मेसिन खरिद गरेपछि परीक्षणको दर बढ्ने अपेक्षा गरिएको छ। तत्काललाई जिल्लामा रहेका नगरपालिका र जिल्ला समन्वय समितिले १५ लाख, त्यसैगरी  गाउँपालिकाले दश-दश लाख संकलन गर्ने भएका हुन्।

असार १ गते भित्र जिल्ला विपद् व्यवस्थापन समितिको खातामा रकम जम्मा गरी पिसिआर मेसिन खरिद प्रक्रिया अगाडी बढाइने जिल्ला प्रशासन कार्यालय बझाङका कम्प्युटर अपरेटर नन्द धामीले बताए।

अन्य सम्बन्धित समाचार:  बागलुङमा कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु

साथै बैठकले जिल्लाका उद्योगी, ब्यापारी निर्माण व्यवसायी तथा सङ्घ संस्थालाई सहयोगको लागी अनुरोध गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दिप ओखेडाले जानकारी दिए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पत्र अनुसार प्रत्येक पालिकाले आफ्नो स्थानीय तहमा २० देखी १०० बेड सम्मको आइसोलेसन वार्ड तयार गर्न भनी आएको निर्देशनको समेत जानकारी गराइएको थियो।

भारत र देशका बिभिन्न जिल्लाबाट भित्रिएकाहरुको परिक्षण गर्ने दिन पुगिसक्दा पनि प्रदेशमा रहेका ल्यावहरुमा पिसिआर परिक्षण हुन नसक्दा हाललाई स्वाब सङ्कलन कार्य रोकिएको छ।

अहिले जिल्लाका १९३ वटा क्वारेन्टाइनमा ३२६४ जना बस्दै आएका छन्। क्वारेन्टाइन अवधि पुगि सकेकाको  परीक्षणका लागी भिटिएम र आरडिटी  पाँच÷पाँच हजार थान उपलब्ध गराउन कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र छाउनी काठमाडौँ र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र धनगढी कैलालीलाई अनुरोध गरिएको जिल्ला समन्वय समिति प्रमुख खडक खड्काले बताए।

जिल्ला स्थित बिभिन्न निकायका एम्बुलेन्स तथा तिनका चालकलाई कोभिड १९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको विविध कार्यमा परिचालन गर्ने तयारी समेत भई रहेको जयपृथ्वी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र खड्काले बताए।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८,५२० जनामा कोरोना संक्रमण पुष्टि, २०३ जनाको मृत्यु

जिल्लामा नै पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेसँगै स्थानीयलाई कोरोना परिक्षण तिब्र रुपमा हुने आशा पलाएको छ।