कोरोनाबाट कतारमा चार नेपाली कामदारको मृत्यु 

कतारमा कोराना बाट सङ्क्रमण हुनेको सङ्ख्या ७० हजार १ सय ५८ 

योगेन्द्र योगी,दोहा। कतारमा कोरोना भाइरस सङ्क्रमणबाट अहिले सम्म चार नेपालीको मृत्यु भएको छ। कतारस्थित नेपाली दूतावासका अनुसार  मृत्यु हुने ४ मध्ये २ जनाको अन्य रोग देखिए पनि मृत्युको प्रमुख कारण कोरोना नै भएको जनाएको छ ।

नेपालमा लक डाउन भएपछि कतारमा ४ जनाको कोरोनाको कारण मृत्यु भएको र अन्य ३६ जनाको विभिन्न कारणले मृत्यु भएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन्।

उनका अनुसार हालसम्म ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भइसकेको छ।

कतारमा कोराना बाट सङ्क्रमण हुनेको सङ्ख्या ७० हजार १ सय ५८  पुगेको छ। अहिले सम्म ४५ हजार ९ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोनाको कारण अहिले सम्म ५७ जनाले ज्यान गुमाई सकेका छन्।

अन्य सम्बन्धित समाचार:  केपी ओली प्रधानमन्त्री नियुक्त

यता, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित कोरोना उद्धार तथा राहत बितरण समितिले कतारको गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्न सोह्रौँ चरणमा कतारको विभिन्न ठाउँमा रहेका र खाद्यान्नको समस्यामा रहेका ५०६ जना पीडित नेपाली  श्रमिकहरूलाई खाद्यान्न वितरण गरिएको गैर आवासीय नेपाली सङ्घ कतारका प्रथम उपाध्यक्ष एवम् उद्धार तथा राहत समितका संयोजक उत्तम गुरुङले जानकारी दिएका छन्।