कतारले चार चरणमा प्रतिबन्ध हटाउने, अगष्ट १ देखि कतार आउन पाइने

योगेन्द्र योगी
दोहा। कोरोना भाइरसको जोखिम कम गर्न कतारले विभिन्न क्षेत्रमा लगाउदै आएको प्रतिबन्ध चार चरणमा तीन महिना भित्र क्रमिक रुपमा हटाउने भएको छ।

विशेष सावधानी अपनाउँदै सेप्टेम्बरसम्म मुलुकलाई सामान्य तर्फ लैजाने विपत व्यवस्थापन समितिकी प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छिन्।

पहिलो चरणमा जुन १५ देखि केही मस्जिदहरू, केही सपिङ सेन्टरहरू, केही पार्कहरू, केही निजी स्वास्थ्य संस्थाहरू लगायत खोलिने छ। २० प्रतिशत कामदारहरूले सबै सावधानीका आवश्यकताहरूका साथ काम शुरु गर्ने छन्।

कतार बाहिरको यात्रामा अत्यन्त जरुरी भएमा र जो कोही दोहा फर्किएमा उनीहरूले व्यक्तिगत खर्चमा १४ दिनसम्म होटल क्वारेन्टाइनमा बस्नु पर्ने छ।

अन्य सम्बन्धित समाचार:  दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

दोश्रो चरण जुलाई १ देखि सीमित घण्टाको लागि महलहरू खोलिने छ भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि बजारहरू खुल्दै जाने छन्। कम क्षमताको साथ सीमित रेस्टुरेन्टहरू खोलिने छन् भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि सङ्ग्रहालय र पुस्तकालयहरू खोलिने छ।

तेश्रो चरण अगष्ट १ देखि बिनानस्थल, किनमेल गर्ने सम्पूर्ण मार्केटहरु, स्वास्थ्य क्लब, फिटनेस हल, पौडी पोखरी, सैलुन र मसाज केन्द्रहरू खोलिने छ भने कोराना भाइरस कम भएका देशहरूबाट छुट्टी रहेका कामदारहरू कतार फर्किन पाउने छन् भने आएपछि १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने छ।

यी प्रतिबन्ध हटेपनि अनिवार्य रुपमा माक्स लगाउनु पर्ने छ भने सामाजिक दूरी पनि कायम गर्नु पर्ने छ। चौथो चरणमा स्थिति सामान्य बन्दै गएपछि सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाइने प्रवक्ता अल खतेरले बताइन्।