यस्ता अमिन जसले भ्रष्टाचार गरि करोडौंको सम्पत्ति जोडे

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग

भक्तपुर।

सरकारी सेवामा रहेर भ्रष्ट्राचार गर्नेहरुको कारण राम्रो छवि भएकाहरुलाई समेत नराम्रो दुष्टिकोणले हेर्ने परिपाटी रहेको छ। सरकारी पदमा रहेर राष्ट्र सेवक कर्मचारी भ्रष्टाचारमा लिप्त भएर करोडौंको सम्पत्ति जोड्न सफल भएको भन्दै अख्तियारले नापी कार्यालय भक्तपुरका तत्कालिन अमिन राजेन्द्र काफ्लेविरुद्ध मुद्दा दायर गरेको छ।

२०५४ पुस १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको जागिर अवधिमा उनले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा भ्रष्टाचार गरेको अख्तियारको दावी छ। काफ्लेले जागिरको अवधिमा भक्तपुर र काभ्रे जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेको देखिएको बताईएको छ।

“आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद”

काफ्लेको जागिर अवधिमा १ करोड ७४ लाख १४ हजार ५० रुपैयाँ ८४ पैसा वैध आय हुनेमा उनको कुल सम्पत्ति ७ करोड १७ लाख ४१ हजार १ सय ५० रुपैयाँ ८३ पैसा देखिएको अख्तियारले बताएको छ।

अन्य सम्बन्धित समाचार:  टिकटक बनाउने क्रममा भीरबाट लडेर युवकको मृत्यु

अख्तियारले काफ्लेविरुद्ध ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरेको छ।