लकडाउनको मोडालिटी हेरफेर हुने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौं। निजी स्वास्थ्य संस्थालाई कोरोना भाइरस परीक्षण गर्न दिने गरी निर्णय हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर गर्ने जानकारी दिए।

उनले कोरोना परीक्षणका लागि थप आधुनिक उपकरण ल्याइने र थप पीसीआर मेसिन ल्याइने जानकारी दिँदै भने, ‘थप आधुनिक उपकरण ल्याउने हामीले कदम चालिराखेका छौं।’

कोरोनाको कारणले मात्र १५ जनाको मृत्यु नभएको जिकिर गर्दै उनले अरू देशको तुलनामा संक्रमित मध्ये मृत्यु हुनेको संख्या कम नै रहेकोउल्लेख गरे। नेपालीको प्रतिरोध क्षमता र उपचारको प्रबन्ध नेपालमा राम्रो भएको भन्दै उनले मृत्युदर कम हुने दाबी गर्दैविदेशमा १३ देशमा १ सय २७ नेपालीको मृत्यु भएको उनले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आपतको घडीमा भ्रष्टाचार नहुने, भ्रष्टाचार हुन नदिने दोहोर्याए

प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण, न्यूनीकरणमा भ्रष्टाचार नभएको बचाउ गर्दै यस्तो आपतको घडीमा भ्रष्टाचार नहुने, भ्रष्टाचार हुन नदिने दोहोर्याए।

अन्य सम्बन्धित समाचार:  ४ सांसद र संसदका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

उनले महालेखा परीक्षकको प्रतिवेदन लगायत प्रक्रियामार्फत हिसाब आउने बताउँदै अहिले जनप्रतिनिधि, स्थानीय तह, संघ सबै काममा केन्द्रित भएकाले अहिले नै पारदर्शी हिसाब देखाउन नसके पनि  महामारीका बेलामा गरिएको खर्च सबै पारदर्शी हुने प्रधानमन्त्रीको धारणा थियो।

प्रधानमन्त्री ओलीले रेलबाट खाँदिएर आएकाले भारतबाट आउने नागरिक ज्यादा संक्रमित भएको बताउँदै क्वारेन्टिनको प्रबन्ध राम्रो नहुँदा संक्रमण फैलिएको भन्ने स्वीकारेनन् ।

उनले भने, ‘भारतबाट आएकाहरू रेलमा खाँदिएर, कोचिएर आएकाले बाटैमा संक्रमण फैलिएको हुनसक्छ। यहाँ आएपछि क्वारेन्टिन राम्रो नभएर, लापरबाहीको कारणले होइन। भारतबाट आउनेहरूको व्यवस्था हुन्छ । क्वारेन्टिन मापदण्डअनुकूल भए÷नभएको अनुगमन भइरहेको र सुधार पनि गर्दै लगिएको छ।’