काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न सरकार पूर्णरुपमा असफल भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ठहर छ। बुधबार प्रधानमन्त्रीलाइ पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरूसहितको ज्ञापनपत्र बुझाउँदै कांग्रेसले महामारी नियन्त्रण गर्न र जनतालाई विपद्बाट सुरक्षित राख्न सरकार पूर्णरुपमा असफल भएको ठहर गरेको हो।
भद्रगोल र अव्यवस्थीत क्वारेन्टाइनका कारण संक्रमणको दर फैलिरहेको भन्दै भारतबाट आएका मानिसलाई परीक्षण गरी सुरक्षित ढंगबाट घर पु¥याउन आग्रहसमेत काँग्रेसले गरेको छ।
सरकारले ‘लकडाउन’को सही किसिमले उपयोग गर्न नसकेको भन्दै उद्योग–व्यवसाय सुचारु गर्न र आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर बन्न पर्ने कांग्रेसको जोड थियो। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा आफूहरुले महामारी नियन्त्रणमा कांग्रेसको धारणा र सरकारले तत्काल गर्नुपर्ने कामबारेमा ध्यानाकर्षण गराएको कांग्रेस नेता रमेश लेखकले बताए।
प्रधानमन्त्री ओलीले सुझावहरूलाई सकारात्मक र गम्भीरतापूर्वक लिएर आवश्यकताअनुसार कार्यान्वयन गरिने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत र रमेश लेखकले संयुक्त रुपमा बालुवाटार पुगि ज्ञापनपत्र बुझाएका थिए।