यस्ता पाँच जिल्ला जुन कोरोना मुक्त छन्

काठमाडौं। रसुवा अहिलेसम्म कोरोनाबाट मुक्त छ। प्रदेश ३ को चीनसंग सिमाना जोडिएको यो हिमाली जिल्लामा कोरोना संक्रमणको कुनै केश छैन। रसुवागढीको मितेरी पुलबाट आवत–जावतमा रोक लगाइएसंगै त्यस जिल्लामा कोरोनाको संक्रमण नभएको जिल्लाका अधिकारीहरुको दावी रहेको छ।

अर्कोतर्फ नुवाकोटसंग सिमा जोडिएका नाकामा पनि उच्च सुरक्षा सर्तकता अपनाईएको कारण संक्रमण नभएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको भनाइ छ ।

यसैगरि प्रदेश नम्बर–१ को ताप्लेजुङमा समेत कोरोनाको संक्रमण नरहेको देखिन्छ। फुङलिङ नगरपालिकाका चन्द्र प्रसाद रिजालले नेपाली पत्रिकासंग भने, “अहिल्य सम्म हाम्रो जिल्लामा कोरोना आएको छैन, खुसी छौं। भविष्यमा के होला त्यो त कसलाई पो थाहा होला र?” रिजालले बताए।

अन्य सम्बन्धित समाचार:  नेपाल समुहका चार नेता बालुवाटारमा, महासचिव पोखरेल राष्ट्रपति भेट्न शीतल निवासमा

ताप्लेजुङ पनि हिमाली जिल्लामै रहेको छ। त्यसो त फुङलिङ नगरपालिका बाहेकका स्थानमा जनसंख्या समेत पातलो रहेका कारण कोरोनाको संक्रमण नहुने र वैदेशिक रोजगारबाट फर्केकाहरुलाई समेत कावेलीमा परिक्षणगरि क्वारेन्टाईनमा राखिदा संक्रमण नभएको जिल्लामा कोरोना रोकथाममा आवद्ध व्यक्तिहरुले बताएका छन्।

उता प्रदेश नम्बर–१ कै ओखलढुंगामा समेत अहिलेसम्म कोरोनाको कारण संक्रमण भएको एउटा पनि केश छैन्।
जिल्ला प्रवेश गर्ने मुख्य नाका–नाकामा कडाइ गरेर अहिलेसम्म ओखलढुंगालेसमेत कोरोनाबाट जिल्लाबासीलाई मुक्त नै राखेको छ। सुनकोशी पुल सिमाना रहेको ओखलढुँगामा घुर्मिमा उच्च सुरक्षा सर्तकता अपनाईएको कारण कोरोनाको संक्रमण नभएको पाईएको हो। तर ओखलढुँगा नै भएर प्रवेश गर्ने सोलुखुम्वुमा भने कोरोना संक्रमण रहेको देखिन्छ।

अन्य सम्बन्धित समाचार:  नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि

अर्कोतिर गण्डकी प्रदेशअन्तर्गतको जिल्ला मनाङ र मुस्ताङलाई पनि कोरोनाले छुन नसक्दा स्थानीय दंग रहेको लमजुङका पत्रकार युवराज श्रेष्ठले नेपाली पत्रिकालाई जनाए। हिमाली जिल्ला मनाङ र मुस्ताङका बासिन्दाहरुसमेत कोरोना संक्रमणबाट मुक्त छन्।