राजनेताको पर्खाइमा रहेको मुलुक

  • अनुपा श्रेष्ठ

काठमाडौँको इन्द्रचोकको दुछेननिमा रहेको हाम्रो घरमा गणेशमान सिंह, मनमोहन अधिकारी, साहना प्रधानजस्ता नेताहरूको निकै आवतजावत हुन्थ्यो। हामी सानै थियौँ। बुबा वीरेन्द्रभक्त श्रेष्ठ राजनीतिमा समर्पित हुनुहुन्थ्यो।

नेताकार्यकर्ताको सधैँ चहलपहल हुने सिंह,अधिकारी र प्रधानजस्ता नेताहरूका बारेमा बुबाले हामीलाई उहाँहरूका योगदान र सादगी जीवनका कथा सुनाउनुहुन्थ्यो। उहाँहरु घरमा आएका बेला घरका सबै परिवारमा एक किसिमको उर्जा र सम्मानभाव उर्लिएको देखिन्थ्यो।

चिया, खाना र नास्ताको व्यवस्था गर्नु पर्ने आमाले पनि कुनै झर्को मान्नुहुन्थ्यो। बुबा राजनीतिमा पूर्णकालीन भएका कारण पनि होला हाम्रो घर राजनीतिक माहोल थियो। नेताका बारेमा मैले सानै उमेरबाट जान्ने अवसर पाए। त्यसताका नेताहरू सबैजसो सादगी इमान्दार र सरल।

कसैले नमस्कार गर्दा नमस्कार फर्काएसँगै सोधखोज गर्ने र मीठो बोल्ने। त्यस समयका केही नेताहरू आज पनि छन्। अथवा उनीहरूका शिष्य आजको राजनीतिका हर्ताकर्ता छन्। यिनीहरूलाई नेता मान्न सामान्य जनता तयार छैनन्।

झुकेर नमस्कार गर्न कार्यकर्ता बाहेकका जनताको मनले मान्दैन। २०७५ सालको प्रतिनिधिसभा निर्वाचनमा म विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रतिनिधि सभाको उम्मेदवार बने। मलाई पनि नेताज्यू भन्दै नमस्कार गर्दा म झस्किएको थिए।

बाल्यकालमा मैले देखेका नेताहरूलाई जस्तो गरी मलाई नमस्कार गर्दैछन् यहाँ नेतामा मात्रै होइन कार्यकर्ताको अहङ्कार अझ ठूलो। तीनै नेताले अहङ्कारी कार्यकर्ता जन्माए, अहङ्कारी कार्यकर्ताले बेइमान नेताहरू जन्माए। ठूला भनिएका दलका नेता कार्यकर्ताले साना दलका नेताकार्यकर्तालाई कमिला सरह पनि मानदैनन्।

चुनावका दौरान मलाई हेय भावले नमस्कार गर्नेहरू ठूला दलका कार्यकर्ता थुप्रै भए। तिनै ठूला भनिएका नेता कार्यकर्ताबाट आजित भएका सामान्य जनको विश्वासपूर्ण नमस्कार सङ्ख्या जति भए पनि त्यो तुलनाको विषय थिएन। उनीहरूका अनेकन कुकृत्यहरू सर्वसाधारणका मनमनमा छन्।

प्रधानमन्त्री निवासको जग्गाको निजी लालपुर्जा बनाउने, निर्मला लगायत धेरै चेलीको बलात्कारीलाई बचाउने, तस्करी र ज्यानमार्ने अभियोगमा सामेल हुने, नवराजको हत्या काण्डलाइ सामान्य घटनाको संज्ञा दिने लगाएत अनगिन्ती भष्टाचार र अपराधमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न हुनेहरुलाइ कसरी राज्यको सम्पुर्ण जिम्मा सुम्पि राजनेता मानेर सम्मान गर्ने? जवकि कैयौंमा नेतामा हुनुपर्ने न्युनतम गुण समेत देखिन्न।

यसो भनी रहदा हामी कहाँ विद्वान नेता, विशेषज्ञ नेता, सेलिब्रेती नेता, युवा नेता, अनुभवी नेता, साधु नेता, अभियन्ता नेता, क्रान्तिकारी नेता, फेसबुके नेता, चटके नेता सबै थरीका नेता नभएको होइन तर खडेरी छ त केवल राज नेताको।

यस्तो परिस्थितिमा मुलुकलाई नयाँ गति दिनुपर्छ भन्दै प्रगतिशील सोच भएकाहरु एकै ठाँउमा आउनु पर्छ भन्ने सोच र जनताको माग बमोजिम विवेकशील साझा पार्टीको जन्म भयो। म लगाएत दर्जनौंले आफुले गरिरहेको काम छोडेर चुनावमा होमियौ, मनमा समृद नेपालको सपना र हातमा तराजुको झण्डा बोकेर।

नभन्दै काठमाडौं क्षेत्र नम्बर १ मा काङ्ग्रेसका नेता प्रकाशमान सिंहलाई जित्न विवेकशील साझा पार्टीका नेता रबिन्द्र मिश्रले हम्मे हम्मे पारेका थिए। काठमाडौँको अन्य स्थानमा पनि पार्टीले जनताको मन जित्न सफल भयो।

काठमाडौँ क्षेत्र नम्बर ७ मा पुराना अनुभवी उम्मेदवारलाई पछी पार्दै ५३७६ मतले मलाइ तेस्रो स्थान दिलाइ स्थानिया बासिले बिश्वास र सम्मान गरेर ५ बर्षकोलागि सता बाहिर बसि सो क्षेत्र र देशको सेवाको लागि नियुक्त गरिदिए।

तर दुखको कुरा जनताको अमुल्य मत पाइ बिजयी भएका अधिकांश प्रतिनिधिहरुले जनचाहना बमोजिम काम गर्ने त कुरै छोडौ जनहित विरुद्धमा काम गरेर जनताको मतको अपमान गरेको उदाहरणहरु बग्रेल्ती छन्।

धेरै टाढा नगइ काठमाडौं क्षेत्र नं ७ कै उदाहरण दिंदा यस स्थानबाट बिजयी सासंद रामवीर मानन्धरले म भन्दा सक्षम त बामदेव गौतम हुन भन्ने बक्तब्य सार्वजनिक गरि यो क्षेत्रमा उपनिर्वाचन गराउन खोज्नु जनताको ५ बर्षे म्यान्डेटको अपमान हो भन्ने कुरा स्पष्ट छ, पार्टीका शिर्ष नेताको हातमा पुर्ण अधिकार र यिनलाई रिझाउन सके ठुलो भाग पाइन्छ भन्ने रोगीले ग्रस्त रहेका राजनीतिक पार्टीहरुबाट अरु के नै आशा गर्न सकिन्छ र।

पुराना पार्टीको यो राजनीति देखि आजित भएका जनताले नयाँ उदय हुदै गरेको आशालाग्दो बैकल्पिक पार्टी विवेकशील साझालाई रोज्नु स्वाभाबिक थियो। प्रदेश ३ मा त यो पार्टीलाई यति धेरै बिश्वास गरियो कि ३ जना सासंदको प्रतिनिधित्व भयो र प्रदेशको तेस्रो ठुलो दलको रूपमा प्रतिनिधित्व गर्दैछ।

तर, हामी जस्तो राजनीति मार्फत देशको सेवा गर्छु भन्नेहरु र बैकल्पिक पार्टी भनी आशा गरि भोट गरेका नागरिकको रत्तिभर खयाल नगरी केन्द्रिय समितिका पुर्व विवेकशीलका साथीहरूले पार्टी त्यागी विवेकशील साझा त विवेकशील र साझा भै सकेछ, चुनावको बर्ष दिन पुग्दा नपुग्दै।

काठमाडौँ क्षेत्र नम्बर ७ को उम्मेदवारीको रूपमा मेरो दायित्व ५ बर्ष काम गर्नु थियो सत्ता बाहिर बसि सरकार र प्रतिपक्षी दललाई सजक गराउने र जनता माझ रहि जनहितमा काम गर्ने तर पार्टीका जिम्मेवार ब्यतिहरुबाट जान अन्जानमा मेरो जिम्मेवारीमाथी खलल पुर्याउने कोशिश भयो।

असल नेताहरूको जमात भएको भनी निकै आशा गरेको पार्टीबाट यस्तो कदम चालिएला भन्ने राष्ट्रको हित चाहने कसैले कल्पना समेत गरेको थिएन। पटक पटक राजनीतिक पार्टीबाट धोका खाएका नेपाली जनतालाई यो अर्को धोका थियो। पार्टीका द्वय सम्योजकको बिचारमा भिन्नताको न्यून अर्थ रहन्छ, राष्ट्रको हितको अगाडी यो एक राजनेता हुने लक्ष्य लिएकाले बुझ्नु पर्ने कुरा हो।

राजनेतालाई गल्ती गर्ने सहुलियत हुँदैन, गल्ती भै हाले पनि ठुलो क्षती हुनु अधि गल्ती सच्चाउनु पर्छ। कस्को गल्ती कति भयो भन्ने कुरा ठुलो होइन, गल्तीको नाममा अपराध भएको छ। र यो अपराधको सजाय हामी जस्ता उम्मेदवार र क्याम्पेनरहरुले अझै पनि हरेक दिन भोगिरहेका छौं।

जनताले ५ बर्षको लागि म्यान्डेट दिएको सरकार बनाउने दल, प्रतिपक्ष दल , साना दल र चुनावमा उठेका हरेक उम्मेदवारलाइ दिएको हो। जनता सर्बोच्च हो भन्ने मन मस्तिष्कमा राखेर सबैले आ आफ्नो जिम्मेवारी बहन गर्न सक्नुपर्छ। यसमा अधिकांश पार्टी चुकेका छन।

प्रदेश ३ को तेस्रो दल र नेपालको ५ औं ठुलो दल विवेकशील साझालाई पनि जनताले ५ बर्षकै जिम्मेवारी दिईएको हो, जहाँ पार्टी टुक्राउने अनुमति थिएन।अनुमति नदिएको अपराध गरि पार्टी टुक्राएकोमा जनता कति निराश र दुखी भए भन्ने स्पष्ट जवाफ गएको उपनिर्वाचनमा भोट मार्फत जनताले दुबै पार्टी विवेकशील र साझालाइ दिईसकेका छन्। नेपाल निर्माण कुनै पनि हालतमा टुटेर होइन जुटेर मात्र सम्भव छ।

कोरोनाको कहरमा सरकारको दुरदर्शिताको कमी, कमजोर ब्यवस्थापन, पार्टीको आपसी कलह र गैर जिम्मेवार कदमहरुले मुलुकलाई अझै अधेरोमा धकेलेको छ। मुलुकको यो अवस्थामा पनि राष्ट्रको हित चाहनेहरु एक ठाउँमा उभिन नसक्नु ठुलो दुर्भाग्य हो।

एकताका विभिन्न प्रयासलाई साकार रुप दिन जिम्मेवार सबैले आ-आफ्नोे स्थानबाट बल दिन अब चुक्नु हुदैन। पुराना र ठूला पार्टीमा बसेर यो पार्टीका शिर्ष नेताकै कारण न पार्टी उभो लाग्छ न त देश भन्ने ज्ञान हुदाहुदै सोही पार्टीमा अल्झिनु देश प्रतिको धोका होइन र? फेरि नयाँ पार्टी खोल्नु भन्दा भ्रष्टाचारको विपक्षमा भएका र समृद्ध नेपाल चाहने सबै एक जुट हुनु देशको माग होइन र? अहिले सबै सक्षम नेताहरू एकजुट भै भ्रष्टाचार विरुद्धको लडाइँ लड्नु छ, स्वास्थ र शिक्षालाई सुलभ बनाउनु छ, कृषि अभियानमा जुटनुछ, रोजगारी श्रृजना गर्नुछ र नेपाल समृद्ध बनाउनु छ।

सारा देशवासीहरु बिगतमा घटेका घटनाबाट पाठ सिक्दै राजनीति मार्फत देशको सेवा गर्न तम्सेकाहरु नेता र राजनेताहरूको रूपमा रुपान्तरण हुन्छन भन्ने पुर्ण आशामा छन्। राजनीतिक परिवर्तनको यात्रा पक्कै लामो हुन्छ। त्यो लामो यात्राको केही दुरी हामीले पार गरिसकेका छौ। आशा गरौ हामी छिटै गन्तव्यमा पुग्नेछौँ।