जनता टिप्परमा खचाखच, मन्त्रीज्यू हेलिमा सरर !

देवीकृष्ण अधिकारी,जुम्ला।

बुधबार कालिकोटको लालीघाटमा एउटा घटना घट्यो, टिप्पर दुर्घटना ! भारतमा मजदुरी गरि फर्केका कालिकोटका ३९ जना मजदुरहरू त्यसै टिप्परमा सवार थिए।

रोग, भोग  अशिक्षा र विकटताको  पर्यायवाची नाम मानिन्छ कर्णाली। कर्णाली भन्ने बित्तिकै गरिब, अनपढ र पिछ्डा बर्गहरुको बस्ती हो भन्ने मानसिकता अझै पनि राजधानीका महलमा मस्त निदाउने र लाखौंका सोफामा आराम गर्नेहरुको मानसिकताबाट हट्न सकेको छैन र हटोस पनि कसरी? किनकी कर्णालीले अहिले पनि रोग भोग र अशिक्षाको मार खेपिरहेकै  छ।

गरिबी र अशिक्षाको मारमा परेका कालिकोटका तिनै ३९ जना सवार थिए टिप्परमा, जो “दैनिकी चलाउन र जिबिकोपार्जन गर्न भारतको गुजरात र उत्तराञ्चलका विभिन्न गल्ली-गल्ली तथा चट्टानका ढाँकहरुमा पसिना बगाएर दुई पैसा कमाउने आशा बोकेर हिडेका कालिकोटका अधिकांस दलित परिवारहरु थिए”\। कोरोनाको कहरले उठिबास लगाएपछि दिनरात भोकभोकै जन्मथलो फर्किदै थिए।

बिकासका नाममा चट्टान र भिर फोडेर बनाइएको डोरेटो बाटो र त्यही बाटोमा ढुङ्गा माटो बोक्ने टिपरमा खचाखच तीन दर्जन मान्छे दुर्घटना हुनु स्वभाविक कुरा हो। त्यसमाथि पनि दुई ठाउँबाट आएका दुई ग्रुपका बिच भनाभन पछि टिप्पर चालकमाथी नै हातपात गर्ने स्थिति सिर्जना भएपछि त्यहाँको अवस्था सहजै आंकलन गर्न सकिन्छ।

शहरमा टिप्परले ठक्कर दिएर मान्छे मारेका घटनाहरु प्रशस्तै सुन्न पाइन्छ तर  खचाखच मान्छे भरिएको टिपर दुर्घटनामा परेर मान्छेले ज्यान गुमाउनु पर्ने अवस्था छ कर्णालीमा। यस्ता समाचार कर्णालीकालागि कुनै नौला होइनन्। कहिले ट्रयाकटर दुर्घटना कहिले ट्रक त कहिले टिपरमा यात्रा गर्दा कर्णालीबासीले दुर्घटनामा ज्यान गुमाएका समाचार सुनिरहन्छ्न।

अन्य सम्बन्धित समाचार:  ‘एमाले-एमाले’ बीच भिडन्त, बादलविरुद्ध माधव पक्षका खिमलाल उम्मेदवार

बुधबारको घटना प्रतिनिधि घटना मात्र हो। कर्णालीमा यस्ता घटना भैरहन्छ्न। तर अरु दुर्घटना भन्दा यसलाई अलि फरक ढंगले हेर्न जरुरी छ किनकि अन्य समय भन्दा यो समय र परिस्थिति फरक छ। यतिबेला आवतजावत गर्न सरकारको अनुमति  चाहिन्छ।

कोरोना भाइरसका कारण भारतका विभिन्न स्थानबाट नेपाल भित्रीएका आफ्ना नागरिकहरुलाई  गन्तब्य सम्म पुर्याउने दायित्व सरकारको हो। यसमा मुख्य रुपमा स्थानीय सरकार र प्रदेश सरकारको मुख्य  भुमिका रहन्छ। भारतका विभिन्न नाकाबाट नेपाल प्रवेश गरेका नागरिकहरुलाई गन्तव्य सम्म पुर्याउन प्रदेश र स्थानीय निकायले समन्वय गरेरमात्र सवारी पास सहित अनुमति दिने ब्यवस्था रहेको छ।

बुधबारको लालिघाट दुर्घटना हेर्दा प्रदेश सरकार र स्थानीय सरकारको ब्याबस्थापन तथा समन्वयमा गम्भीर लापरबाही गरिएको प्रष्ट हुन्छ। कहाँबाट कति नागरिक आए र उनिहरु कहाँ जाने हुन भन्ने तथ्यांक प्रदेश सरकारले राखेको हुन्छ। स्थानीय सरकार संग पनि आफ्ना कति नागरिक भित्रिदैछन भन्ने जानकारी हुन्छ। यति हुदाहुदै पनि उचित ब्यवस्थापन गर्न नसक्दा लालिघाटमा ३ जनाले ज्यान गुमाउनु परेको  छ  भने २ जना अझै बेपत्ता  छन्।

अन्य सम्बन्धित समाचार:  घरबाहिर निस्कनेलाई कानूनी कारवाही हुने, मास्क नलगाए सय रुपैयाँ 

बेला-बेला हेलिकप्टर चार्टर गरेर योजना अनुगमन, सामान्य कार्यक्रम उद्घाटन , भ्रमण र कोठे भेलालाई सम्बोधन गर्न हिड्ने कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण निवारणका लागी  आफ्ना नागरिक ब्यावस्थापनमा तदारुकताका साथ लाग्न नसकेकै कारण  समस्या उत्पन्न भएको नकार्न सकिदैन।

कर्णालीका मन्त्रीहरुको हेलिकप्टर मोहको बेला-बेला चर्चा भइरहन्छ। कालिकोट टिप्पर दुर्घटना पछि पनि यो प्रसङ्गले पुनः एकपटक कर्णालीका मन्त्रीको हेलि मोहलाई  सतहमा ल्याएको ठान्नेहरुको जमात ठुलै छ। भारतबाट आएका नागरिकको उचित ब्यवस्थापन गर्न नसकिरहेको अबस्थामा टिप्पर दुर्घटना पश्चात् घटनास्थलमा हेलिकप्टर मार्फत मुख्य मन्त्री सहितको टोलि पुग्नुले यसलाई थप बलियो रुपमा पुष्ठि  गरिदिएको छ।

दुर्घटनामा परेकालाई उद्धार गर्नु पर्छ। त्यसका लागी हेलिकप्टर र उद्धारका लागि आबश्यक सामाग्री सहित जनशक्ति पठाउनु पहिलो प्राथमिकता हुन्छ। विपद्को बेला आफू मातहतका संयन्त्र लाई  जतिसक्दो छिटो छरितो परिचालित गर्नुपर्छ, राहतका प्याकेज तयार गर्नुपर्छ। तर ब्यवस्थापन गर्नु पर्ने बेलामा बेवास्ता गरेर घटना पछि अनुगमनझैं हेलि मार्फत  सरर पुग्दा साँच्चै बेमौसमी बाजा र मन्त्रीको हेलि मोह बाहेक अरु के नै भन्न सकिन्छ र?