किरन धामी
दार्चुला। कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन स्वाब जाँच गर्ने पिसिआर मेसिन खरिद गर्न दार्चुलाका नौ वटै स्थानीय तह सहमत भएका छन्। जिल्ला स्तरमा कोरोना परीक्षणका लागी गरिने आरडिटी भरपर्दो नभए पछि पिसिआर मेसिन किन्ने तयारी गरिएको समन्वय समिति दार्चुलाका प्रमुख करवीर बहादुर कार्कीले बताए।
कोरोना सङ्क्रमण भए नभएको परिक्षण गर्न स्वाब सङ्कलन गरि पिसिआर प्रयोगशाला धनगढी पठाउनु पर्ने तथा त्यहाँ परिक्षण निकै सुस्त गतिमा हुन थालेपछी जिल्लामै स्वाब परिक्षण गर्न नौ वटै स्थानीय तह मिलेर पिसिआर मेसिन खरिद गर्ने निष्कर्षमा पुगेको उनले जानकारी दिए।
जिल्लाबाट पिसिआर प्रयोगशाला धनगढी पठाएको स्वाबको रिपोर्ट झण्डै आधा महिना पछि आउन थालेपछी कोरोना परिक्षण छिटोछरितो गर्न पिसिआर मेसिन खरिद लगायत सम्बन्धित पक्षको अध्ययन गर्न समिति गठन गरिएको समन्वय प्रमुख कार्कीले जानकारी दिए।
करिव एक करोड पर्ने पिसिआर मेसिन खरिद गर्नका लागी जिल्लाका नौ वटै स्थानीय तहले बजेट विनियोजन गर्ने गरी सहमति भएको उनले बताए। पिसिआर मेसिन खरिद गर्न जिल्ला समन्वय समिति प्रमुख करवीर कार्कीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन समेत गरिएको छ।
समितिको सदस्यहरूमा महाकाली नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला अस्पतालका प्रमुख डाक्टर, स्वास्थ्य कार्यालयका प्रमुख र जिल्ला समन्वय अधिकारी रहेका छन्।
जिल्ला सदरमुकाम खलङ्गामा विहीबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लाका लागी पिसिआर मेसिन खरिद गर्न आवश्यक पर्ने रकम, जनशक्ति तथा भौतिक संरचना लगायतका व्यवस्थापकीय पक्षका सम्बन्धमा विज्ञ समुह सँग आवश्यक परामर्श गरी यथाशक्य छिटो प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदनका आधारमा कार्य अघि बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।
दार्चुलाका १३ जनाको स्वाब पिसिआर परिक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भैइसकेको छ।