कर भुक्तानीको दबाबमा रहेका करदातालाई राहत

काठमाडौं। सर्वोच्च अदालतले कर भुक्तानीको दबाबमा रहेका करदातालाई राहत दिएको छ। सर्वोच्चको संयुक्त इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने ब्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

सरकारले जेठ २५ गतेसम्म कर भुक्तानी गर्न उर्दी जारी गरेको भएपनि करदाताको चर्को विरोधपछि सरकारले असार ७ र १५ गते भुक्तानी गर्न अर्को समय तोकेको थियो।

यसैलाई आधार मानेर सर्वोच्चमा रिट परेपछि त्यसको सुनुवाइ गर्दै न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले कर तिर्ने समय थप्न सरकारलाई आदेश दिएको हो।

फैसलामा भनिएको छ- ‘जसरी बन्दाबन्दी सम्बन्धमा नेपाल सरकारले कुनै निश्चित कानुनको दफाभन्दा पनि परिस्थितिको माग र अपरिहार्यतालाई विचार गरी निर्णय गरेको देखिन्छ, त्यस्तै समयावधि सम्बन्धि उक्त सूचना (कर तिर्न विभागले जारी गरेको सूचना) हरु सम्बन्धित ऐन नियमको कुनै दफामा सीमित रही जारी भएको देखिँदैन।’

अन्य सम्बन्धित समाचार:  फेरि हवाई भाडा बढ्यो

‘वर्तमान विषम परिस्थिति, व्यवहारिकतालाई विचार गरी करदाताहरुलाई विवरण एवं कर तिर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले प्रशासकीय निर्णयबाट जारी भएको अनुभूति हुन्छ,’ सर्वोच्चको आदेशमा छ, ‘बन्दाबन्दीले समयमा करदाताहरुले आ-आफ्नो पेशा, रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको सञ्चालन गर्न सकेको अवस्था छैन भन्ने सम्बन्धमा विवाद हुन सक्दैन।’

सर्वोच्चले चैत ११ गतेदेखि अनवरत रूपमा रहेको बन्दाबन्दी जेठ ३२ पछि फुकुवा हुने विश्वासमा कर तिर्ने सूचना जारी भएको अनुमान भए पनि लामो बन्दाबन्दीपछि असार ७ र १५ भित्र सबै करदाताले कर तिर्न सक्ने आधार नभएको ठहर गरेको छ।