बझाङमा थप २ जनामा कोरोना पोजेटिभ

रिदम सिंह, बझाङ। बझाङमा थप दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।  थलारा गाउँपालिका –३ का ३४ बर्षका पुरुष र वित्थड चिर गाउँपालिका ९ का ३० बर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। उनीहरु दुबै जना भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए। उनीहरु सँगै जेठ २५ गते ४१ जनाको  स्वाब परीक्षणका लागी सुदूरपश्चिम प्रादेशिक प्रयोगशाला धनगढीमा पठाइएको र त्यहाँको रिपोर्ट अनुसार दुईजनाको कोरोना पुष्टि भएको जिल्ला अस्पताल बझाङका फोकल पर्सन नारायण जोशीले बताए।

सङ्क्रमित दुबै जना अहिले स्थानीय तहले क्वारेन्टाइनमा अलग कोठा लिएर बसालेको र उनीहरूको स्वास्थ्य अवस्था समेत सामान्य रहेको जोशीले बताए। यो सँगै  जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको हो। उनीहरु सँगै बसेका अन्य ब्यक्तिहरूको पनि पिसिआर परिक्षण गर्ने तयारी भएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट अस्पताल सञ्चालक साहको मृत्यु

यस अगाडि कोरोना पुष्टि भएका सात जना मध्ये दुई जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ भने अन्य सम्बन्धित स्थानीय तहले बनाएका क्वारेन्टाइनमा रहेका छन्। जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय क्षेत्रमा त्रास सँगै सर्तकता बढ्दै गएको छ। प्रहरी प्रशासन र स्थानीय तहहरूले उच्च सर्तकता अपनाउन जोड दिएको छ।

खप्तड छान्ना गाउँपालिका ३ को एकै क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना सङ्क्रमण देखिएपछि पालिकाले मङ्गलवार देखि आवत जावतमा कडाइ गरेको छ। बिहीबार सम्म जिल्लाका एक सय ९७ क्वारेन्टाइनमा तिन हजार दुई सय ३७ जना रहेका छन्।