मन्त्री ज्ञवालीको क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग वार्ता

काठमाडौं। क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन्। वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श हुनुका साथै अहिलेको कठिन परिस्थितिमा सहकार्य र साझेदारीमा उनीहरुले जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनीहरुले वार्ताका क्रममा नेपालमा रहेका क्यानडाली र बेलायती नागरिक तथा बेलायत र क्यानाडामा रहेका नेपालीलाई सहयोग गर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्ने तत्परता व्यक्त गरेको बुझिएको छ। कोभिड–१९ विरुद्ध आ–आफ्ना सरकारले चालेका कदमप्रति उनीहरूले ऐक्यबद्धता जनाएको, सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभ तथा ज्यान गुमाएकाहरूका परिवारजनमा सहानुभूति र समवेदन प्रकट गरे। कोभिड–१९ लाई परास्त गर्न विश्वव्यापी एकता, सहयोग र साझेदारीमा पनि उनीहरूले जोड दिएको बुझिएको छ।

अन्य सम्बन्धित समाचार:  बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो