गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेको र सवै पुरुष रहेको जनाईएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ। त्यसैगरि स्याङ्जाको गल्याङ नगरपालिकामा मात्र १८ जना संक्रमित फेला परेका छन्।

गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन्। यसैगरी वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  खोप चाँडै आपूर्ति गर्ने सेरमको जवाफ

डा. शर्माले स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको जानकारी दिए।

यसैगरी पर्वतको कुश्मा नगरपालिकामा ८ जना तथा पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमित फेला परेका छन् ।

पर्वतकै अर्का एक जना संक्रमितको पनि स्थानीय तह खुलेको छैन। तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवक पनि कोरोना देखिएको छ।