जर्साबहरु उठेकै छैनन्

  • राम अधिकारी

हेर त निलो आकाशमा
एउटा आशा अझै बाँकी छ
एउटा सिङ्गै जून पूर्णिमा हुन बाँकी छ।

तिमी कीर्तिपुरको एउटा कुनामा
नाम्लोको सिरानी बनाएर निभ्यौ
हामी मेचीदेखि महाकाली
आसामदेखि दोहासम्म
दु:ख र भयको सिरानी बनाएर
पल-पल छट्पटिरहेका छौँ
सिङ्गै जून उदाउने आशामा।

फरक यत्ति छ
तिमी देशभित्र थलिनुमा
र हामी देशबाहिर निसासिनुमा
जिन्दगीको निर्णय गर्ने जर्साब उही छ
सुतिरहेको जर्साब बाहेक
तिमीसंग उज्यालो दिने सूर्य पनि छ
तिमीलाई न्यानो शीतलता दिने
पूर्णिमाको जून पनि छ।

हामीसंग,
बाबुको मुहार नदेखेकी छोरीले
मेसेन्जरमा पठाएको पेन्टिङ्ग पनि छ
सिरानी च्याँपेर निदाउनै नसक्ने
तृष्णाले व्याकुल धुन पनि।

सिलगुडीबाट उकालो चढेर पनि
दशगजामा देश खोज्दा, थुनियौ तिमी
सोलुका दुई चार पहाड नाघेर पनि
खुला राजमार्गमा थुनियौ तिमी।

तिमी त साह्रै थाक्यौ पनि होला
त्यो भन्दा बढी त
तिमी आउने बाटो पर्खेर बसेका
बुबा आमाका आँखा थाकेका छन्
पर पर तिमी आउने बाटो हेर्न पुगेका
छोरा र छोरी थाकेका छन्।

तर आँशु पुछ्ने केही हातहरु थाकेका छैनन्
दिनहुँ मृत्यु अगाडि उभिएर पनि
तिमीलाई हेर्नुपर्ने जर्साबहरु त
अझै उठेकै छैनन्
लाखौका भोक र आँशु देखेर पनि।

– भर्जिनिया, अमेरिका