कविता: नयाँ नेपालमा …

  • सरगम भट्टराई

हरपल हतास छन् आम मान्छेहरु
यहाँ हसुर्नेहरु हसुरेकै छन्
कुर्लनेहरु कुर्लिएकै छन्
भकुर्नेहरु भकुरेकै छन्
कागहरु कोईली बनेर फ़ेरि पनि
मिठो रसस्वाद पछि डकारेकै छन्
लेख्नेहरु त लेखिरहेकै छन्
तर तुक् छैन
देख्नेहरु देखिरहेकै छन्
तर हेर्नेलाई दुख: छैन
नयाँ नेपालमा ।

लेखाई कुपोषित छ,
देखाई अघोषित छ
आजकल देखेको लेख्दैनन्
लेखेको देख्दैनन्
कोही चपाएर बोल्छन्
वोल्न पर्नेहरु दवाएर बोल्छन्
एकथरी टाउकेहरु लेख्न रिसोर्ट पस्छन्
हठात् शरीरहरु वेकाम हुन्छन्
मध्यरातमा गर्भनाश हुन्छ
टाउकाहरु परस्पर दोषारोपण गर्छन्
फ़ेरि पनि मृत शरीर चुस्न,
जुम्राहरु टाउकाको पछि दगुर्छन्
मान्छे सिटामोल नपाई शास छाड्दै गर्दा
फूईँमान्छेहरु सुबिधा थप्छन्
भूईँ मान्छेहरु दुबिधामा पर्छन्
हेर त यहाँ सबै कुरा भैरहेछ
नयाँ नेपालमा ।

देख्यौ नि यहाँ
टाउकेहरुको अग्रगाम अनि
आम मान्छेहरुको पश्चगाम भैरहेछ
त्यसैले लेख्न बेकार छ
देख्न बेकार छ
किनकी यहाँ
महामारीमा पनि लुट्ने हतार छ
फुट्ने हतार छ
भूईँ मान्छेहरुका लागि
यहाँ सब बेकार छ
नयाँ नेपालमा ।