कोरोनाबाट निजगढमा बालकको मृत्यु, स्वास्थ्य संस्था सिल, बजार बन्द

श्याम गुप्ता।

वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रवार साँझ मृत्यु भएका बालकको पीसीआर पनि पोजेटिभ आएको छ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट पोजेटिभ भई उपचारको क्रममा मृत्यु भएका बारा निजगढ वडा नं ६ का पाँच वर्षीय बालकको पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए।

निमोनियाका कारण सिकिस्त बनेका बालकलाई परिवारले निजगढको दुई वटा निजी क्लिनिकमा जाँच गराएका थिए। उनीहरूले नै दिएको सुझावको आधारमा टेम्पोमा राखेर निजगढ कै सामुदायिक प्रसूति अस्पतालमा लगिएको थियो।

बिहान ११ बजे आकस्मिक कक्षमा ल्याइएको ती बालकको अवस्था गम्भिर रहेको कारण अस्पतालले भेन्टिलेटर सहित पाँच बेडको आइसोलेसन तयारी अवस्थामा राखेको थियो।

भेन्टिलेटरमा राख्नु अघि अस्पताल मै उपलब्ध किटबाट आरडीटी परिक्षण गरिएको थियो। त्यस पछि नारायणी अस्पतालको किटबाट समेत परिक्षण गरियो। दुवैमा रिपोर्ट पोजेटिभ आएको हो।

अन्य सम्बन्धित समाचार:  पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य सुरक्षा सतर्कता अपनाएरै बालकको उपचार गरिएको वीरगन्ज हेल्थ केयर अस्पतालले जनाएको छ। बालकको शव बिहान नेपाली सेनालाई जिम्मा लगा एको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख रुद्रप्रसाद पण्डितको बताए।

अहिले निजगढ नगरपालिका वडा नं ६ माथिल्लो योजना टोल सिल गरिएको छ भने निजगढमा त्रास देखिएको छ। बालकलाई लगिएको स्वास्थ्य संस्था सिल गरिएको छ र बजार पनि बन्द गरिएको छ।

शनिवार बिहानै निजगढ नगरपालिका स्थित कोरोना रोकथाम तथा नियन्त्रण समितिको आकस्मिक बैठक बसेको छ। बैठक पछि नगर प्रमुख सुरेश कुमार खनालले बजार बन्द गरेर सहयोग गरिदिन आह्वान गर्दै विज्ञप्ति निकालेका छन्।

नगर प्रमुख खनालले जारी गरेको सूचनामा शङ्कास्पद क्षेत्रमा परीक्षणको क्रम अगाडि बढाइएकोले ढुक्क हुन आग्रह गरिएको छ।
साथै विज्ञप्तिमा अर्को सूचना जारी नभए सम्म अत्यावश्यक औषधी पसल बाहेकका अन्य पसल बन्द गर्न आग्रह गरिएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८९६० जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

निजगढ नगरपालिका भित्र सञ्चालित सम्पूर्ण पसल तथा व्यवसायहरु (औषधी पसल बाहेक) सरकारी तथा निजी कार्यालहरु , बैंक तथा वित्तीय संस्थाहरु , नगर भित्र चल्ने सम्पूर्ण साना तथा ठूला यातायातहरु (विरामी बोक्ने एम्बुलेन्स बाहेक) पूर्ण रुपमा बन्द गरेर सहयोग गरिदिन आग्रह गरिएको छ।

त्यसैगरी अनावश्यक घर बाहिर हिँडडुल नगरी घर भित्रै बसिदिन , व्यक्तिगत दुरी बनाई सुरक्षित बसिदिन पनि आग्रह गरिएको छ।