राजसंस्थालाई गाली गर्नुअघि आफ्नो अनुहार हेर्न प्रचण्डलाई लोहनीको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेकपा अध्यक्ष पुष्पकमल दाहालले शनिबार संसद्‍मा दिएको अभिव्यक्ति आफू क्रान्तिकारी हुँ भनेर देखाउन र आफ्ना सिद्धान्त बिनाको राजनीति लुकाउने बहाना भएका आरोप लगाएका छन्। अध्यक्ष लोहनीले ट्वीट गर्दै प्रचण्डले राजसंस्थालाई गाली गर्नुअघि आफ्नो अनुहार हेर्न सुझाएका छन्।

प्रतिनिधिसभा बैठकमा प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने भन्दै दलहरूको विकल्प नदेख्न भन्दै खबरदारी गरेका थिए। उनले तत्कालीन राजा महेन्द्र शाह रहेका बेलामा नेपाली भूमि कालापानीमा आएको र त्यहीबेलादेखि भारतीय सेना नेपाली भूमिमा रहेको स्मरण गराउँदै राजसंस्था को खुईरो खनेपछि अध्यक्ष लोहनीले ट्वीट गर्दै राजसंस्थाबारे ६ तथ्य प्रस्तुत गर्दै जवाफ फर्काएका छन्।

 

लोहनीले भनेका छन्: 

भूपू प्रधानमन्त्री प्रचण्ड जी ले राजसंस्थालाई फेरि गाली गर्नु भएछ। सबैले बुझेका छन् यो अझ पनि आफू क्रान्तिकारी हुँ भनेर देखाउने र आफ्ना कमजोरी र सिद्धान्त बिनाको राजनीति लुकाउने उहाँको बाध्यता हो। तर एक पटक यथार्थ हेरौँ उनले भनेका छन्।

अन्य सम्बन्धित समाचार:  अन्तर्राष्ट्रिय उडान बन्द, चार्टर्ड र उद्धार उडान सञ्चालन गर्न सकिने

(१) नेपालको एकीकरण र एकताको जग बसाल्ने संस्था राज संस्था हो। यो राजसंस्थाको प्रयास सफल नभएको भए माननीय प्रचण्ड जी नेपाली पहिचान पाउनु हुने थिएन।

(२) नेपालको क्याबिनेटमा २००७ सालपछि विदेशी राजदूत बस्ने परम्परा हटाएर चीनसँग बाटो खोल्ने साहस राजसंस्थाले गरेको हो।

(३) नेपालमा २००७ सालपछि प्रजातन्त्रको आडमा नेपालको उत्तरी सिमानामा खडा गरिएका सबै विदेशी चेक पोस्ट हटाउने साहस राजसंस्थाले गरेको हो।

(४) परराष्ट्र नीतिमा लम्पसारवादको नीति लाई निरन्तर अस्वीकार गरेर तथा नेपाली जनतालाई विश्वास गरेर संवैधानिक भएर बस्ने अठोट राज संस्थाले गरेको हो।

(५) जनताको भावना बुझेर खुसीसाथ पत्रकार सम्मेलन गरेर राजा ज्ञानेन्द्र नागार्जुन जङ्गल गए। विश्वको इतिहासमा राजाले यसरी राष्ट्रलाई कुनै क्षति नपुर्‍याई शान्तिपूर्वक सत्ता हस्तान्तरण गरेको उदाहरण कहाँ छ? र आज पनि पूर्व राजा नेपालको राष्ट्रियता र हक हीत बारे आवाज उठाएर रहेका छन्।

(६) यी माथिका सबै यथार्थता माननीय प्रचण्ड जी ले बिर्सनु भएछ। विदेशी भूमिमा विदेशी शासकलाई बिन्तीपत्र राखेर उनीहरूको संरक्षण र हरेक किसिमको समर्थनमा टेकेर हजारौँ मानिसलाई “मुक्ति“ को सपना बेचेर राजनीति गर्नु भएका माननीय प्रचण्ड जी ले आज राजसंस्थालाई गाली गर्नु भनेको आफू सिद्धान्त भ्रस्ट भएको वास्तबिकतालाई लुकाउने प्रयास मात्र हो। 

मेरो भूपू प्रधानमन्त्री प्रचण्डलाई नम्र सल्लाह छ, एक पटक ऐनामा आफ्नो अनुहार हेर्नुस् र अनी मात्र अरुलाई गाली गर्नुस्। तपाईँ पहिले के भन्नु हुन्थ्यो र आज के हुनु भएको छ? विचार गर्नुस् र अनि मात्र अरुलाई आलोचना गर्नुस्।