प्रदेश २ मा थप ३४ जनामा कोरोना भाइरस संक्रमण

वीरगञ्ज। प्रदेश २ मा थप ३४ जना कोरोना भाइरस संक्रमण देखिएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको जनाईएको छ।

शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो।
पर्सा, बारा, रौतहट र सर्लाहीबाट ल्याइएका थ्रोट स्वाबको नमुना परीक्षणका क्रममा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन्।

संक्रमण देखिएका नयाँ बिरामीहरुमा पर्साको पोखरिया क्वारेन्टिनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको हो। पोखरिया क्वारेन्टिनमा बस्दै आए पनि ३२ वर्षीया महिला वीरगञ्जको र २४ वर्षीय एक पुरुष बहुदरमाईका हुन्।

अन्य सम्बन्धित समाचार:  पिसिआर परीक्षण एक साता बन्द

विन्दबासिनी क्वारेन्टिनमा रहेका सखु्वाप्रसौनी–३ का ४० वर्षीय र विन्दबासिनी–३ का २६ वर्षीय पुरुषमा, जिराभवानी क्वारेन्टिनमा बस्दै आएका जिराभवानी–१ शान्तिटोलका ३२ वर्षीय पुरुषमा, धोविनी क्वारेन्टिनका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ।

रिपोर्ट ढिलो आएको भन्दै धोविनी क्वारेन्टिनबाट ४४ जना भागेर घर पुगेका थिए। पछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर फिर्ता ल्याएको थियो।

पर्सागढी नगरपालिका ४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका– १ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली– ५ निचुटा बस्ने २० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ। उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए।

बाराका ९ जना संक्रमित सबै पचरौताका रहेको बुझिएको छ। पचारौताका २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो।