ठूला मिडियामा धमाधम पत्रकार निकालिदै, महासङ्घको दबाबले पछि हट्लान् सञ्चार मालिक?


काठमाडौँ।
नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चारगृहलाई एक हप्ते अल्टिमेटम पत्र बुझाएको केन्द्रीय सदस्य जन्मदेव जैसीले  नेपाली पत्रिकालाई जनाएका छन्।

कोरोनाको कहर शुरु भएदेखि नै ठूला सञ्चार गृहहरूले आर्थिक समस्या देखाउदै पत्रकारहरूलाई निकाल्ने गरेको प्रति महासङ्घको गम्भीर आपत्ति रहेको भन्दै सशक्त आन्दोलन गरिने जैसीले बताए।

त्यसो त महासङ्घ पत्रकारहरूको मुद्दामा सशक्त किसिमले बढ्न नसकेको भन्ने पीडित पत्रकारकै आरोप छ नि भनेर सोधिएको प्रश्नमा जैसीले भने। “हैन, विगतमा पनि पत्रकारको मुद्दामा केन्द्रित भएकै हौ, तर अहिले जस्तो समस्या उत्तिसारो थिएन, केही मुद्दाहरूलाई सम्बोधन पनि गरेका हौ।”

कान्तिपुर,अन्नपूर्ण पोष्ट, माउन्टेन टिभी लगायतमा अल्टिमेटम पत्र बुझाएको जनाँउदै पत्रकार/कर्मचारीहरूलाई जबर्जस्त निकाल्ने, बेतलबी बिदा बस्न दबाब दिएर राजीनामा गर्न बाध्य पारिएको भन्दै दश वटा सञ्चारगृहलाई एक साता भित्र समस्या समाधान गर्न आग्रह गरेको बताएका छन्।

मङ्गलवार महासङ्घको कार्यालय सञ्चारग्राममा बसेको केन्द्रीय समिति बैठकले पत्रकार तथा कर्मचारीलाई जबर्जस्त निष्कासन गर्ने, न्यूनतम पारिश्रमिक लागू नगर्ने, राजीनामा दिन दबाब दिने, कोरोनाको बहानामा पेशाबाटै निकाल्ने सञ्चारगृहको सूची तयार गरेर अल्टिमेटम दिएको जनाएको छ।

महासङ्घले बिहीबार कान्तिपुर, अन्नपूर्ण, नयाँ पत्रिका, नागरिक, राजधानी लगायतका ब्रोडसिटका साथै एभिन्युज, एपी १, हिमालय र माउन्टेन टिभीका साथै उज्यालो रेडियो नेटवर्कमा अल्टिमेटम पत्र बुझाइएको जनाएको छ।

त्यसो त उता सञ्चार मालिकहरूले कोरोनाको कारण विज्ञापनमा आएको कटौतीका कारण आर्थिक रुपमा सञ्चारगृहहरू चलाउन नै मुस्किल परेको भन्दै कर्मचारी छाँटकाँटको प्रकृयामा गएको बताउँदै आएका छन्। 

अन्य सम्बन्धित समाचार:  नेकपा नफुटेसम्म कुन समुहमा लाग्ने भन्ने टुंगो लाग्दैन: कांग्रेस